काँग्रेसका प्रभावशाली नेता पराजित

काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको जारी मतगणनाक्रममा वाम गठबन्धनको अग्रता थप फराकिलो हुँदै गएको छ । प्रतिनिधिसभातर्फका ५० क्षेत्रको मतपरिणाम सार्वजानिक हुँदा वाम गठबन्धनका एमाले ३० र माओवादी केन्द्रले ११ क्षेत्रमा जित हासिल गरेका छन् । काँग्रेसले ६ स्थानमा मात्र विजयी हासिल गरेको छ ।

शनिबार दिउँसो सार्वजानिक भएको मत परिणाममा नेपाली काँग्रेसका प्रभावशाली नेता समेत पराजित भएका छन् । यद्यपि काठमाडौमा भने नेता प्रकाशमान सिंह र गगन थापाले विजयी हात पारेर पार्टीकाई केही सान्त्वना दिलाएको छ ।

मतपरिणाम अनुसार मोरङमा डा शेखर कोइराला, महेश आचार्य लगायत पराजित भएका छन् भने सिन्धुपाल्चोक १ मा मोहनबहादुर बस्नेत, सोलुखुम्बुमा बलबहादुर केसी पनि पराजित भए। मतगणना जारी रहेका स्थानमा पनि काँग्रेसका प्रभावशाली नेता पराजित हुने सम्भावना बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समेत तनहुँ १ मा निकै पछाडि छन् भने डा रामशरण मतह, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, विजयकुमार गच्छदार जस्ता नेता मतगणनामा पछि परेका छन् ।

परिणाममा काठमाडौ-२ बाट एमाले वरिष्ठ नेता माधावकुमार नेपालले विजय हासिल गरेका छन् । यस्तै गोरखा २ मा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई विजय भएका छन् । उनले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरे।

मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजाल, मोरङ प्रतिनिधिसभा क्षेत्र ४ मा माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका छन् ।

यस्तै, दोलखा प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ, पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ, सिन्धुपाल्चोक-१ मा माओवादी केन्द्रका अग्नि सापकोटा, सिन्धुपाल्चोक-२ मा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन् । ललितपुर क्षेत्र नम्बर-३ मा माओवादी केन्द्रकी पम्फा भुसाल, मोरङ-१ मा एमालेका घनश्याम खतिवडा, मोरङ क्षेत्र नम्बर-३ मा एमालेका भानुभक्त ढकाल, मोरङ-६ मा एमालेका लालबाबु पण्डित विजयी भएका छन् । लालबाबु पण्डितले काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालालाई पराजित गरेका हुन् ।

उता, बाग्लुङ-१ मा एमालेका सूर्य पाठक, बाग्लुङ-२ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन् भने ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार, रसुवामा काँग्रेसका मोहन आचार्य, धादिङ-१ मा भूम्रि्रसाद त्रिपाठी, धादिङ-२ मा पनि एमालेकै खेम लोहनीले विजयी हासिल गरेका छन् ।

यसैबीच, काठमाडौं उपत्यकामा भने मिश्रति परिणाम आएको छ । काठमाडौका १० क्षेत्रमध्ये ५ वटा क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तथा ४ वटामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । क्षेत्र ५ मा गणना जारी छ ।

काठमाडौं-१ मा नेपाली काँग्रेसका प्रकाशमान सिंह, २ मा एमालेका माधवकुमार नेपाल, ३ बाट एमालेका कृष्ण राई, काठमाडौं-४ मा नेपाली काँग्रेसका गगनकुमार थापा विजयी भएका छन् । यस्तै काठमाडौं ६ मा काँग्रेसका भीमसेनदाश प्रधान, ८ मा एमालेका जीवनराम श्रेष्ठ, काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ, क्षेत्र नम्बर-१० मा नेपाली काँग्रेसका राजन केसी विजयी भए।

दोस्रो चरणको निर्वाचन भएका ४५ वटै जिल्लाध्ये अर्घखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ५ को मथुरा मतदान स्थलका (क) र (ख) मतदान केन्द्रमा पुनःशनिबार मतदान सम्पन्न भएको छ । स्याङ्जाबाहेक सबै जिल्लामा मतगणना कार्य जारी रहेको पनि आयोगले जनाएको छ ।

- अादर्श समाज सम्वाददाता