स्वास्थ्य पत्रकारिता पुरस्कार खतिवडालाई

पोखरा, २३ मंसिर । पोखरामा डेढ दशकदेखि स्वास्थ्य क्षेत्र बिटमा मात्र पत्रकारिता गरिरहेका पत्रकार ऋषि खतिवडा युआरएल पत्रकारिता पुरस्कार-२०७४ बाट सम्मानित भएका छन्।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि-युआरएल) ले चौथो वाषिर्कोत्सव अवसरमा खतिवडालाई उक्त पुरस्कारबाट सम्मानित गरेको हो । पुरस्कार राशी १५ हजार नगद, ताम्रपत्र र दोसल्ला छ।

शनिबार आयोजित समारोहमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापा, पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसी, अस्पताल व्यवस्थापन विज्ञ डा बच्चुकैलाश कैनी र युआरएलका अध्यक्ष सुशील थापाले खतिवडालाई सम्मान गरे।

उपकुलपति प्राडा थापाले युआरएलले कास्की र प्रदेश ४ का विभिन्न स्थानमा सेवासँगै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको बताए। उनले अन्तर्राष्ट्रियस्तरका रेफरेन्स ल्याब स्थापना भएसँगै उपचारमा सहजता आएको उल्लेख गरे। थापाले भने-‘२०५४ सालतिर यस्ता ल्याब नहुँदा काठमाडौं नमूना पठाएर एक हप्ता पर्खिनुपर्थ्याे।’

उनले समय समयमा स्वास्थ्य परीक्षण गरी स्वस्थ रहन आग्रह गरे। उनले ४/५ महिनामा प्रतिष्ठानले एमबिबिएस अध्यापन गर्न शुरु गर्ने जानकारी दिए।

पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले युआरएलको विश्वकै प्रतिष्पर्धी र उत्कृष्ट सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गरी अगाडि बढ्नु अनुकरणीय भएको बताए। हस्िपटल व्यवस्थापन विज्ञ तथा युकेका लेबर पार्टीका नेता डा बच्चुकैलाश कैनीले नेपालको स्वास्थ्य क्षेत्रका केही आशालाग्दा प्रयाससँगै विकृति, विसंगतिसमेत रहेको औंल्याए। उनले ती विसंगति अन्त्य गर्न सबैको एकीकृत प्रयास जरुरी भएको उनको भनाइ छ।

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुरस्कृत व्यक्तित्व खतिवडालाई जुझारु, कर्मठ र इमान्दार पत्रकारको रुपमा चिनाए। अब जननिर्वाचित प्रतिनिधिले जनताको आधारभूत अधिकार स्वास्थ्यलाई सहज, सरल र सुलभ बनाउन प्रयास गर्नुपर्ने उनको सुझाव छ।पुरस्कार योग्य प्रतिभा छनोट समिति संयोजक वद्रीविनोद प्रतीकले योगदान, निरन्तरता र पत्रकारिताको आदर्श अनुसार क्रियाशील खतिवडालाई समितिले सर्वसम्मत चयन गरेको बताए। पुरस्कृत व्यक्तित्व खतिवडाले पुरस्कारले अझै यो क्षेत्रमा क्रियाशील भएर योगदान गर्ने हौसला मिलेको बताए। उनले भने-‘जनस्वास्थ्य पत्रकारितामार्फत् खासै बाहिर आएको छैन। यो क्षेत्रमा कलम चलाउने पत्रकारको खाँचो छ।’

युआरएलका अध्यक्ष सुशील थापाले प्रदेश नं ४ लाई प्रयोगशालाको क्षेत्रमा आत्मनिर्भर बनाउने प्रयासमा आफूहरु रहेको बताए। उनले भने-‘हामी सेवाग्राहीका लागि आवश्यक र संवेदनशील अन्य रक्त परीक्षण पनि सहज, सुलभ र सरल तवरले यही उपलब्ध गराउन प्रतिबद्ध छौं।’

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले ४ वर्षको अवधिमा रक्तपरीक्षण गरी असामान्य देखिएमा सम्बन्धित विशेषज्ञकहाँ जाने प्रचलन बढ्दै गएको बताए। उनले भने-‘यो क्षेत्रका सर्वसाधारणमा स्वास्थ्यबारे चेतना निकै उच्च छ।’ चुस्त व्यवस्थापन, सर्वोत्कृष्ट प्रविधि र रसायनबाट सेवासँगै सामाजिक उत्तरदायित्व युआरएलको पहिचान बन्दै गएको उल्लेख गरे।

कार्यक्रममा शिक्षाविद् हेडम्बप्रसाद कोइराला, मधुमेही समाज कास्की अध्यक्ष कृष्णप्रसाद बरालले पनि शुभकामना दिएका थिए। युआरएल अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ल्याब साइन्टिफिक अफिसर तथा सेयर सदस्य भूपेन्द्रराज पाण्डेय र सञ्चालन सञ्चारकर्मी अनिषा श्रेष्ठले गरेका थिए।

- अादर्श समाज सम्वाददाता