मौन अवधि शुरू, अन्तिम दिन तीव्र प्रचार

काठमाडौं, १८ मंसिर । यही मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुको निर्वाचन प्रचारप्रसार सकिएको छ । सोमबार मध्यरातदेखि निर्वाचनको मौन अवधि शुरु भएसँंगै चुनावी प्रचारप्रसारको औपचारिक कार्यक्रम सकिएको हो ।

मौन अवधि शुरु भएपछि कुनै दलले चुनाव प्रचार गरेमा निर्वाचन कानुनविपरीत मानिने छ ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आममतदाता कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, सञ्चारमाध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिताविपरीत हुने आयोगले भनेको छ ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने प्रावधान निर्वाचन आचारसंहितामा रहेको निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

चुनाव प्रचारको अन्तिम दिन दलहरू नजिता आफ्नो पक्षमा पार्न सोमबार दिनभर नै अन्तिम रस्साकस्सीमा जुटेका छन् । दलहरूले सोमबार अधिकांश निर्वाचन क्षेत्रमा चुनावी सभा आयोजना गरे । सुदुरपश्चिममा रहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा एक दर्जन सभा तथा चुनावी र घरदैलो कार्यक्रममा सहभागी भए ।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि दर्जन बढी चुनावी कार्यक्रममा सहभागी भएर औपचारिक प्रचारप्रसार अन्त्य गरेका छन् । सोमबार मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने भएकाले दलहरूले अन्तिम दिन अधिकतम् स्थानमा चुनावी सभाको आयोजना गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार कैलाली र डडेल्धुराका आधा दर्जन बढी चुनावी सभालाई सम्बोधन गरे । देउवा सोमबार दर्जन संख्यामा चुनावी कार्यक्रममा सहभागी भई काठमाडौं फर्केका छन् । मंगलबार नै उनी डडेल्धुरा फिर्ता हुने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि सोमबार दिनभर विभिन्न जिल्लामा चुनावी सभामा व्यस्त बने । उनले सोमबार प्रचारको अन्तिम दिन काठमाडौं र भक्तपुरमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गरेका छन् । चुनावी सभाका अतिरिक्त उनी विभिन्न छलफल तथा भेटघाटमा व्यस्त हुने उनको सचिवालयले जनाएको छ ।

निर्वाचनको औपचारिक कार्यक्रम गर्न नपाइने भए पनि दलहरुले अनौपचारिक छलफल भेटघाट कार्यक्रमलाई भने निर्वाचनको दिनसम्म नै जारी राखिने जनाइएको छ ।

- अादर्श समाज सम्वाददाता