राजधानीमा बम आतंक  

दलका उम्मेदवार निर्वाचन प्रचार प्रसारको अन्तिम तयारीमा जुटिरहँदा सोमबार राजधानीका विभिन्न स्थानमा विष्फोटक वस्तु फेला पर्ने र बम विष्फोट हुने घटना सार्वजानिक भएका छन् । बम विष्फोटबाट काँग्रेसका युवा नेता गगन थापासहित ११ जना घाइते भए भने अन्य दुर्इ स्थानमा पनि बम भएको आशंकामा सुरक्षाकर्मीले डिस्पोज गरेका छन् ।

सोमबार बिहान चुनाव प्रचारप्रसारक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालक्षित बम प्रहार भएको हो ।

बूढानीलकण्ठ नगरपालिका-२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए । थापाको कान र कम्मरमा चोट लागेको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि उनी घर फर्केका छन् । बम प्रहारबाट थापासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । घाइते सबैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालमा शुभचिन्तक तथा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेता थापाले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गरे ।

घाइते हुनेमा बूढानीलकण्ठ नगरपालिका-२ भंगाल बस्ने ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठ, ३६ वर्षीय राजकाजी श्रेष्ठ, २८ वर्षीय जयराम लामिछाने, ३२ वर्षीय रेणु बडुवाल, ३० वर्षीय सुमन खड्का, ४० वर्षीय धु्रव खड्का, ४७ वर्षीय पुण्ाबहादुर श्रेष्ठ, ४४ वर्षीय रवीन्द्र कार्की, ४० वर्षीय काशीलाल श्रेष्ठ र ४० वर्षीया पार्वती श्रेष्ठ छन् । घाइतेमध्ये श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर र अन्यको बोल्न सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ । विष्फोटन गराउनेको खोजीका क्रममा प्रहरीले करिब ३० जना भन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

उता, राजिम्पाटस्थित एभरेष्ट बैंकको अगाडिको पेटीमा क्यान बियरमा रातो टेप टाँसेर ३ वटा भाँडामा तार र डेटोनेटर जडित अबस्थामा सोमबार फेला परेको विष्फोटक पदार्थ महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरीको समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोलीले डिष्पोज गरेको छ ।

ललितपुरको महाकाल-३ च्यानडाँडास्थित जंगलमा रुखको फेदमा झारपातले छोपी राखेको अवस्थामा सोमबार फेला परेको प्रेसर कुकर बम इलाका प्रहरी कार्यालय टुङगनको प्रहरी टोली र नेपाली सेनाको टोलीले डिस्पोज गरकोे छ । उता, सर्लाहीमा सोमबार बिहान फरक फरक दुर्इ स्थानमा बम विस्पोट भएको छ । जिल्लाको कमैयामा सोमबार बिहान पे्रसर कुकर बम विष्फोट भएको छ । कमैयाको पुतली चौकबाट करिव तीन किलोमिटर दक्षिण गोडारी खोला नजिक बाटो छेउमा अज्ञात व्यक्तिले बम विष्फोट गराएको बताइएको छ । बिहान ७ बजेतिर ठूलो आवाजमा बम विष्फोट हुनेबित्तिकै प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनास्थल आसपास कुकरको टुक्रासँंगै बम छरिएको अवस्थामा भेटिएको र मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय कमैयाले जनाएको छ ।

- अादर्श समाज सम्वाददाता