कास्की सबै केन्द्रमा पुगे सामग्री

पोखरा, १८ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि कास्कीका सबै मतदानस्थलमा सोमबार साँझसम्म निर्वाचन सामग्री पुगेका छन् । सुरक्षाकर्मीको मद्दतमा मतदान अधिकृत र कर्मचारी आवश्यक निर्वाचन सामग्री लिएर सम्बन्धित केन्द्रमा पुगेका हुन् ।

क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले सोमबार साँझसम्म कास्कीका १ सय ५० मतदानस्थलका ३ सय १७ मतदान केन्द्रमा सामग्री लिएर कर्मचारी पुगिसकेको जानकारी दिए ।

‘क्षेत्रीय निर्वाचन आयोगबाट दुर्इ दिनसम्म तालिम दिएर निर्वाचन गराउन सम्बन्धित मतदान केन्द्रमा खटाइएको हो’-प्रमुख सुवेदीले भने-‘अब बिहीबार हुने मतदानका लागि उहाँहरुले तोकिएको जिम्मेवारी पूरा गर्नुहुनेछ ।’

निर्वाचनका लागि आइतबार र सोमबार गरी आवश्यक मतपत्र, मतपेटिका स्वस्तीक छाप, धागो, लाहाछाप लगायत ६६ प्रकारका निर्वाचन सामग्री सम्बन्धित केन्द्रका मतदान अधिकृत र कर्मचारीलाई जिम्मा लगाइएको थियो । कास्कीका टाढाटाढा रहेका मतदान केन्द्रमा पुग्ने ६४ जना मतदान अधिकृतलाई आइतबार नै निर्वाचन सामग्री जिम्मा लगाइएको हो । बाँकीलाई भोलिपल्ट सोमबार जिम्मा लगाइयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र नियुक्ति पत्र तथा निर्वाचन कार्यालयबाट अन्य सामग्री वितरण गरिएको हो ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृतसहित सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहायक गरी कुल नौ कर्मचारी खटिएका छन् । मतदान केन्द्रमा पुगिसकेका कर्मचारीले सोमबार नै सम्बन्धिक केन्द्रमा निर्वाचनका लागि सूचना टाँस गर्ने काम गरिसकेको बताइएको छ । उनीहरुले मंगलबारदेखि किला गाड्ने र डोरी लगाउने लगायत काम गर्नेछन् ।

यस्तै, साथमा रहेका सुरक्षाकर्मीले स्कर्टिङ गर्ने र निर्वाचनविरुद्ध अवाञ्छित क्रियाकलाप हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाएको सुरक्षा निकायले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा कम्तिमा ९ देखि बढीमा २७ जनासम्म सुरक्षाकर्मी खटिएका छन् । चुनावका लागि जिल्लामा स्वयंसेवक बाहेक कुल २ हजार ५ सय ३३ जना कर्मचारी परिचालन गरिएको छ ।

कास्कीका चार मतदान केन्द्रको चुनाव गराउने जिम्मा महिला कर्मचारीलाई दिइएको छ । कास्की क्षेत्र १ अन्तर्गत अमरसिंह नमूना विद्यालय, क्षेत्र २ अन्तर्गत पार्दी मावि र नवीन मावि तथा क्षेत्र ३ अन्तर्गत बाराही मावि मतदास्थलका कुल ४ मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको हो ।

कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ मतदाता छन् । जिल्लामा १ हजार ६४ जना मतदाता बराबर १ मतदान केन्द्र कायम गरिएको छ । १ सय ५० मतदानस्थलमध्ये कास्कीका सबैभन्दा बढी मतदान स्थल क्षेत्र १ मा कुल ६२ वटा र सबैभन्दा कम क्षेत्र २ मा मात्र ३२ कायम गरिएको छ । क्षेत्र ३ मा मतदान स्थलको संख्या ५६ छ ।

निर्वाचनका लागि खटिएका कर्मचारीले आवश्यक अन्तिम तयारीका लागि सर्वदलीय बैठक गर्नुका साथै मंगलबार र बुधबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

कास्कीका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको र स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन गराउन सम्पूर्णबाट सहयोगको अपेक्षा गरिएको बताए ।

निर्वाचनका लागि जिल्लाका मतदाता पनि उत्तिकै उत्साहित छन् । बाहिर गएका मतदाता जिल्ला फर्किदै छन् भने प्रदेश ४ को सम्भावित राजधानी पोखरामा विभिन्न पेसा व्यवसाय गरी बस्ने बाहिरी जिल्लाका मतदाता गृहजिल्ला जाँदैछन् ।

- अादर्श समाज सम्वाददाता