पाल्पाका मतदानस्थलमै सामग्री

पाल्पा। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गराउन खटिएका मतदान अधिकृत सहित मतदान सामाग्री सबै मतदान केन्द्र्र पुगेका छन्।

मतदानसँग सम्बन्धित ६४ प्रकारका सामाग्री कर्मचारी र सुरक्षाकर्मीको टोली दुर्इ सय ६६ मतदान केन्द्रहरुमा पुगेका हुन्। मतदाताको संख्या अनुसार ७ देखि ८ जना कर्मचारी खटाइएको छ। निजामती, स्थानीय तह र शिक्षक गरी १८ सय ७ कर्मचारीको व्यावस्थापन गरिएको छ। प्रत्येक मतदान केन्द्रमा कर्मचारीहरु पुगेर आफ्नो काम थालेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले बताए।

हरेक मतदान केन्द्र तीन वटा मतपेटिका र करिब तीन प्रतिशत बढी तिनैवटा मतपत्र मतदाता पठाइएको छ। कर्मचारीसँगै मतदान केन्द्रका लागि आवश्यक सुरक्षाकर्मी र मोवाइल टोली सहित एक हजार ४३ म्यादी प्रहरी परिचालन भएका छन्। एक मतदान केन्द्रमा बढीमा १५ जना सम्म सुरक्षाकर्मी परिचान गरिएको छ। अति संवेदनशील १८, संवदेनशील ४० गरी सबै मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षा व्यावस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए। जिल्लामा सबैभन्दा कम एक सय ६६ मतदाता तिनाउ गाउँपालिको पाटक आधारभूत विद्यालय  र सबैभन्दा बढी एक हजार ६४ माथागढी गाउँपालिका रत्न मावि, पूर्वाखोला गाउँपालिका मातृभूमि मावि र रैनादेवी गाउँपालिका सिद्धेश्वरको गाविस भवनमा रहेका छन्। जिल्लामा एक हजारभन्दा बढी मतदाता १९ मतदान केन्द्रमा रहेका छन्। दुर्इ प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको पाल्पामा एक लाख ८१ हजार २ सय ५५ मतदाता छन्।

- अादर्श समाज सम्वाददाता