यमनका पूर्व राष्ट्रपति सालेह मारिए

यमन, १८ मंसिर। यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएको यमनी हुठी समूहका उच्च अधिकारीले सोमबार पुष्टि गरेका छन् ।

सालेह, उनका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जना सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका, यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले पनि जनाएको छ ।

मन्त्रालयले उक्तस्थानको भिडियोमा सालेहको मृत शरीर कैद भएको दृश्य देखिएको बताएको छ ।

‘मिलिसियाका कारण सिर्जना भएको सङ्कट र मिलिसियालाई नेतृत्व दिँदै आएका पूर्व राष्ट्रपति सालेह, उनका उच्च अधिकारीसमेत मारिएका छन्’-अल मासिराहा टेलिभिजनमा सालेहका समर्थकलाई उद्धृत गरी जनाइएको छ ।

पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए । सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन वर्ष संयुक्त रूपमा शासन सम्हाल्लेका थिए ।यमनी सामाजिक सञ्जालमा सालेहको मृत शरीरको भिडियोसहितका सामग्री छयापछयाप्ती आउन थालेपछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सालेहको मृत्युको समाचार सार्वजनिक गरेको थियो ।

यमनमा तीन दशकभन्दा बढी शासन सम्हालेका ७५ वर्षीय सालेह सन् २०१२ को राजनीतिक जनआन्दोलनका बलमा पदच्युत भएका थिए ।

- रासस/सिन्हवा