गाउँसभाद्वारा २० योजना थप

लमजुङ, १८ मंसिर । जिल्लाको एक गाउँपालिकाले गाउँसभाले नयाँ २० योजना थप गर्दै नयाँ नीति कार्यक्रम र बजेट पारित गरेकोे छ ।

मस्र्याङ्दी गाउँपालिकाको दोस्रो गाउँ सभाबाट नयाँ नीति कार्यक्रम र बजेटको संशोधन प्रस्ताव पारित गर्दै सो निर्णय गरिएको हो ।

सभाबाट नयाँ २० वटा योजना थप गर्नुका साथै एफएम रेडियो ब्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७४ र मस्र्याङ्दी गाउँपालिकाको आर्थिक कार्यविधि २०७४ पारित गरेको गाविसका प्रवक्ता एवम् उपाध्यक्ष होमबहादुर बिकले बताए ।

उनका अनुसार सभाले २० योजना नयाँ योजना थप गर्नुका साथै उपाध्यक्ष होमबहादुर बिकको संयोजकत्वमा प्रेमबहादुर गुरुङ र लक्ष्मी परियार रहेको ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ । थप भएका योजनामा अधिकांश सडक निर्माणका रहेका छन् ।

यसैगरी, पारित मुख्य निर्णयमा कृषि शाखातर्फ ३९ लाख ६९ हजार, पशु शाखातर्फ ५२ लाख ५ हजार रुपैयाँ, महिला विकासतर्फ ५ लाखको बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, अशक्त, असहाय, विपन्न कोषलाई ५ लाख रुपैयाँ विनियोजन गर्नुका साथै अलैँची निकासीको लागि गाउँपालिकाको सिफारिस अनिवार्य गरी प्रतिकेजी ५ रुपैयाँ राजश्व लिने निर्णय गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको सो सभामा नीति कार्यक्रम र बजेट संशोधन प्रस्ताव उपाध्यक्ष होमबहादुर विकले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन प्रमुख प्रशाकीय अधिकृत बद्रीनाथ सापकोटाले गरेका थिए ।

- अादर्श समाज सम्वाददाता