निर्वाचनका लागि सामग्री बुझ्दै कर्मचारी

नवलपुर, १८ मंसिर। जिल्ला निर्वाचन कार्यालय, नवलपुरले निर्वाचनका लागि आवश्यक पर्ने सबै सामाग्री सम्बन्धित मतदानस्थल पठाएको छ।

जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका कर्मचारी सोमबार साँझसम्म मतदानमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतसँग निर्वाचन सामाग्री पठाउन व्यस्त देखिन्थे।

नवलपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ वटा क्षेत्र छन्। प्रदेशसभा सदस्यको २ पदका लागि निर्वाचन क्षेत्र नंं १ मा ८ जना र निर्वाचन क्षेत्र नं. २ मा १२ जना गरी २० जना चुनावी मैदानमा छन्।

प्रदेशसभा सदस्य पदका लागि १ क र १ ख मा १०/१० जना र २ क र २ ख मा ११/११ जना गरी ४२ जना चुनावी मैदानमा छन्।

नवलपुरमा १ सय १२ वटा मतदानस्थल र २ सय ५८ वटा मतदान केन्द्र रहेका छन्। तीमध्ये १२ स्थानलाई अतिसंवेदनशील, ३८ स्थानलाई संवेदशील र बाँकीलाई साधारणको रुपमा वर्गीकरण गरिएको छ। जिल्लामा रहेका सबै मतदानस्थलमा पुग्ने गरी सोमबार साँझसम्ममा निर्वाचन सामाग्री सम्बन्धित मतदान केन्द्र र मतदान स्थलका मतदान अधिकृतलाई हस्तान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालय बर्दघाट सुस्ता पूर्वका जिल्ला निर्वाचन अधिकारी भेषराज घिमिरेले बताए।

निर्वाचनमा खटिने कर्मचारी पनि मंगलबार नै आफ्नो मतदान स्थलतर्फ लागेको जनाइएको छ। नवलपुर क्षेत्रमा २ हजार ६० कर्मचारी परिचालन गरिएको छ। नवलपुरमा रहेका २ लाख २१ हजार ७ सय १४ मतदाताले मंसिर २१ मा हुने निर्वाचनमा मतदान गर्नेछन्।

मतदानस्थलमा खटिएका कर्मचारीले भोलिबाट मतदाता परिचयपत्र वितरण गर्न शुरु गर्ने घिमिरेले जानकारी दिए।

त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पनि सोमबार नै मतपत्र लगायतका निर्वाचन सामग्री मतदान स्थलमा पठाइएको छ । पश्चिम नवलपरासीमा १ सय २० वटा मतदान स्थल र २ सय ३७ वटा मतदान केन्द्र रहेका छन् ।

एउटा मतदान केन्द्रमा ५ देखि ८ जना कर्मचारी खटाइएको छ । यहां निर्वाचनका लागि जिल्ला भरी २ हजार ५४ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका जिल्ला निर्वाचन अधिकारी दीपक पौडेलले बताए ।

- अादर्श समाज सम्वाददाता