लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण शुरु

पर्वत, १८ मंसिर। उत्तरी पर्वतको जलजला गाउँपालिका-३ पर्वत बेनीमा ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना निर्माण कार्य शुरु भएको छ।

खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत पर्वत बेनी खानेपानी तथा सरसफाइ आयोजना निर्माण शुरु भएको हो। बढ्दो बस्ती विकाससँगै माथिल्लो क्षेत्रका पानीका मुहान सुक्ने र खानेपानी आपूर्र्तिको समस्या बढिरहेको अवस्थामा पर्वत बेनीमा सञ्चालित उक्त आयोजनामार्फत नदी किनारको पानी तानेर वितरण गर्ने लक्ष्य राखिएको छ।

खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय पर्वतका इन्जिनियर विधान अर्यालले विद्युत्को सहायताले चल्ने सम्पवयल प्रविधिको पम्पबाट कालीगण्डकी किनारबाट पानी तानेर बस्ती माथि रहने टयांकीमा प्रशोधन गरी वितरण गरिने बताए। कालीगण्डकी नदीको दायाँ किनारमा रहेको जुगेपानीको मुहानबाट तानेर १५० मिटर माथि रहने टयाङ्कीमा पुर्‍याइने पानी चार चरणमा प्रशोधन गरी वितरण गरिने इन्जिनियर अर्यालले बताए।

सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको ३० प्रतिशत श्रम तथा नगद लगानीमा निर्माण हुने आयोजनाबाट जलजला गाउँपालिका-२, ३ र ४ नं वडामा पर्ने बगरफाँट, पर्वत बेनी र लामाखेतका करिब एक हजार घरधुरी लाभान्वित हुने पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताए।  आगामी पुसपछि आबद्ध हुने सदस्यलाई रु २० हजारका दरले शुल्क लिने संस्थाले निर्णय गरेको छ। प्रत्येक घरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गर्ने लक्ष्य राखिएको आयोजना विसं २०७६ असार सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको पम्प जडान गरिने जनाइएको छ। मुहानमा इनार, पम्पिङ हाउस लगायतका पूर्वाधारसमेत निर्माण गर्ने तयारी भएको उपभोक्ता संस्थाका सचिव ठाकुर रेग्मीले बताए।

- रासस