मतदान केन्द्र महिलाको जिम्मा

पोखरा, १७ मंसिर। कास्कीका चार मतदान केन्द्रको चुनाव गराउने जिम्मा महिला कर्मचारीलाई दिइएको छ।

आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि कास्की क्षेत्र १ अन्तर्गत अमरसिंह नमूना विद्यालय, क्षेत्र २ अन्तर्गत पार्दी मावि र नवीन मावि तथा क्षेत्र ३ अन्तर्गत बाराही मावि मतदास्थलका कुल ४ मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ।

कास्कीका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार अमरसिंह नमूना विद्यालयको -ख), पार्दीको -ग), नवीन माविको -ग) र बाराही माविको -क) मतदान केन्द्रमा महिला अधिकृतसहित कर्मचारी खटाइएको हो।

तीमध्ये अमरसिंहमा उच्च अदालत पोखराकी अधिकृत देवी भण्डारी, पार्दीमा सहकारी प्रशिक्षक इश्वरी ढकाल, नवीनमा वैज्ञानिक सुनिता अधिकारी र बाराहीमा कृष्णकुमारी पौडेल मतदान अधिकृत रहने गरी प्रत्येक मतदान केन्द्रमा एक जना सहायक मतदान अधिकृत, ४ जना सहायक कर्मचारी, २ जना कार्यालय सहायक खटिनेछन्।

क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले कास्कीमा चुनावका लागि ३ हजार ८ सय ३२ कर्मचारी खटिने जनाएका छन्।

उनका अनुसार कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ मतदाता छन्। त्यस्तै, कुल १ सय ५० मतदानस्थलमा ३ सय १७ मतदान केन्द्र तय गरिएको छ ।

- अादर्श समाज सम्वाददाता