प्रचार प्रसारको आज अन्तिम दिन

पहिलो चरणको मतगणना २१ गते साँझबाट

काठमाडौं १७ मंसिर। पहिलो चरणमा मतदान भएका जिल्लाहरूको मतगनना मंसिर २१ गते दोस्रो चरणको मतदान सकिए लगत्तैबाट शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको मतगणना मंसिर २१ गते सँाझ पाँच बजेपछि शुरु हुने र दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि शुरु हुने प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए। आइतवार निर्वाचन आयोगमा भएको पत्रकार भेटघाटमा आयुक्त यादवले पहिलो चरणका मतपेटिका जिल्ला सदरमुकाममा रहेको र त्यो दलका प्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको निगरानीमा राखिएको पनि उनले जनाकारी दिए। यादवले दोस्रो चरणको निर्वाचनका लागि सोमवार राति १२ बजेदेखि मौन अवधि शुरु हुने जानकारी गराए।

‘निर्वाचनको प्रचार-प्रसार गर्ने सोमबार अन्तिम दिन हो’-उनले भने-‘दल, उमेदवार, भ्रातृ संगठन, मतदाता, मिडिया लगायत सबैलाई मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गर्छु।’ मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचारसंहितमा उल्लेख छ। मौन अवधिमा एस.एम.एस., सामाजिक सञ्जाल, विद्युतीय माध्यममार्फत समेत मत माग्न र निर्वाचन प्रचार-प्रसार गर्न पाइदैन।

उनले राजनीतिक दल र उम्मेदवारबीच पहिलोको तुृलनामा आचारसंहिता पालनामा सम्यम र मित्रवत व्यवहार आयोगले पाएको बताए। यसले निर्वाचन सुरक्षामा सहयोग पुगेको जनाए। दोस्रो चरणको निर्वाचनका लागि कर्मचारीहरू मतदान केन्द्रमा पुग्ने क्रममा रहेको यादवले जानकारी गराए। ‘सरकारबाट निर्वाचनका लागि शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति आयोगले प्राप्त गरेको, मतदाताहरू पूर्ण सुरक्षित साथ मतदान गरेर घर र्फकने वातावरण रहेकाले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा मतदान सम्पन्न हुनेमा आयोग विश्वस्त छ’- उनले भने।

दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार तीन सय ४४ मतदान केन्द्र कायम गरिएको छ। दोस्रो चरणका लागि मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी गराए।

यसैबीच, निर्वाचन आयोगले आगामी २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अनुरोध गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोध्रि्रसाद यादवले शान्ति सुरक्षाको सुदृढ प्रबन्ध गरिएकाले निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई अनुरोध गरेका हुन्। सरकारले निर्वाचनका लागि आवश्यक सबै खालको सुरक्षा प्रबन्ध मिलाईसकेको स्पष्ट पारे। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनका लागि सुरक्षित वातावरण बनाउन सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको उल्लेख गर्दै मतदान सुरक्षित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे। आचारसंहिता पालना गर्न, गराउन पनि सरकार र सम्बद्ध सबैलाई पुनः सचेत गराए।

दोस्रो चरण निर्वाचनको सोमबार अन्तिम प्रचार प्रसार हो। सोमबार मध्यरातबाट मौन अवधि शुरु हुने भएकोले दलहरूले सोमबार अन्तिम चुनाबी सभा र र्‍याली गर्दैछन्। निर्वाचन प्रचार प्रसारको अवधि सकिन लाग्दा दलका शीर्ष नेताहरू देशका विभिन्न शहरमा पुगेर आफ्ना दलका उम्मेद्धारहरूलाई मत माग्न व्यस्त देखिएका छन्।

चुनावी तयारी सकियो

पोखरा। कास्कीमा चुनावी तयारी सबै सकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आइतवार पत्रकार सम्मेलन गरी चुनावको सबै तयारी सकिएको जानकारी गराएको हो। कार्यक्रममा निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले चुनावका लागि आयोग तयार भैसकेकाले मतदानका लागि तयार रहन मतदातासँग आग्रह गरे।

हाम्रो सबै तयारी सकियो। चुनावका लागि सबै सामग्रीहरू सम्बन्धित जिल्लामा पठाइसकेका छौं’-उनले भने-अव सम्बन्धित केन्द्रमा पुर्‍याउन बाँकी छ। भोलिसम्म पुगिसक्छ।’ कार्यक्रममा पत्रकार तथा राजनीतिक दलका प्रतिनिधीहरूले निर्वाचन आयोगको कमजोरी बारे गुनासो गरेका थिए।

क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले कास्कीका सबै मतदान केन्द्रमा कर्मचारीको टुंगो लागिसकेको र केही दिनभित्रै कर्मचारी पुगिसक्ने जानकारी गराए। उनले टाढाका केन्द्रहरूमा निर्वाचन सामाग्री सहित कर्मचारी फिल्डमा पुगिसकेका बताए। कास्कीमा १ सय ५० मतदान स्थलका ५ सय १७ मतदान केन्द्र छन्। जिल्लाभर दुर्इ लाख ५५ हजारले मंसिर २१ गते मतदान गर्दैछन्।

- अादर्श समाज सम्वाददाता