१५औं प्याब्सन मिटको उपाधि टप्सलाई

पोखरा, १७ मंसिर। १५ औ प्याब्सन मिटको उपाधि टप्स माविले हासिल गरेको छ। प्याब्सन मिटमा सहभागी ८० विद्यालयलाई उछिन्दै टप्सले १५ औं प्याब्सन मिटको ट्रफी उचाल्न सफल भएको हो।

टप्सले छात्रा भलिवल र छात्रा एथ्लेटिक्समा दर्ता गरेको जितसँगै प्राप्त अंकको आधारमा टप्स विजयी बनेको हो। टप्सलाई यो उपाधि चौथो पटक हो। टप्सले १२ औ, १३ औं र १४ औं प्याव्सन मिटमा समेत लगातार जितेर ट्रफी आफ्नो कब्जामा पारिसकेको छ।

आइतवार सम्पन्न सिनियर फुटबल तर्फको उपाधि हिल पोइन्ट मावीले पाएको छ। हिल पोइन्टले स्नो भ्यूलाई २-१ गोल अन्तरले हराएको थियो। हिल पोइन्टलाइ फुटबलको उपाधी दिलाउन राहुल गुरुङले २ गोल गरेका थिए भने स्नो भ्यूका लागि एक मात्र गोल अंकित श्रेष्ठले गरेक थिए।

१५ औं प्याब्सन मिट अन्तगत सम्पन्न छात्र भलिबल तर्फको उपाधि नीलगिरि बोर्र्डिङले हासिल गरेको छ। फाइनलमा नीलगिरिले गोल्डेन फ्युचरलाई २५-१५ र २५-२१ को सोझो सेटमा पराजित गरेको थियो। त्यसै गरी तेस्रो स्थानका लागि भएको खेलमा लिटल ड्याफोडिलले चिरगादी बोर्र्डिङलाई २५-२० र २५-२१ को सोझो सेटमा पाखा लगाएको थियो।

टेबल टेनिसतर्फको च्याम्पियन सृजना मावि भएको छ भने दोस्रो मदरल्याण्ड बोर्र्डिङ र तेस्रो स्थान स्टेप बाइ स्टेप माविले हासिल गरेको छ। १५ औ प्याब्सन मिटमा सिनयर फुटबल तर्फको उत्कृष्ट खेलाडी हिल पोइन्टका रमेश गुरुङ घोषित भएका छन भने जुनियर फुटबलमा स्नो भ्यूका सन्देश थापा उत्कुष्ट भएका छन्। छात्र एथ्लेटिक्सतर्फ प्रगतीका सुयोग भण्डारी उत्कृष्ट भए भने छात्रातर्फ टप्स माविकी ममता डगौरा घोषित भइन्। छात्र भलिबल तर्फ नीलगिरिका विशेष भण्डारी उत्कृष्ट खेलाडी भए भने छात्रातर्फ टप्सकी ममता डगौरा उत्कृष्ट खेलाडी भएकी छन्। विजयी टिम, विद्यालय र खेलाडीहरूलाई जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेल, नेपाल आलेम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष याम गुरुङ, प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष षडानन्द गौतमलगायतले ट्रफी, पुरुस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। समापन कार्यक्रम प्याब्सन कास्कीका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो। मंसिर ७ गतेबाट औनपचारिक र मंसिर १३ बाट औपचारिक कार्यक्रम गरेर शुरू भएको १५ औ प्याब्सन मिटमा ८० विद्यालयका छ हजार खेलाडी सहभागी थिए।

- अादर्श समाज सम्वाददाता