खाद्य संस्थान ४४ औं वर्षमा

काठमाडौं, १७ मंसिर। नेपाल खाद्य संस्थानको ४३ औं स्थापना दिवस आइतवार विविध कार्यक्रमका सथा मनाइएको छ। राजधानीमा रक्तदानलगायतका रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै संस्थानले आफ्नो स्थापना दिवस मनाएको हो।

आइतवार आयोजित समारोहमा आपूर्ति मन्त्री जयन्तबहादुर चन्दले संस्थानको हितका लागि सरकार सहयोग गर्न सदैव तत्पर रहेको बताए। खाद्य संकट हुने जिल्लामा यथाशीघ्र सामग्री पठाएर संस्थानले उदाहरणीय कार्य गर्दै आएको भन्दै उनले प्रशंसा समेत गरे।

कार्यक्रममा संस्थानका केन्द्रीय अध्यक्ष प्रकाशबहादुर केसीले संस्थानले आफ्ना नियमित कामहरू वाहेक भूकम्पका समयमा ठूलो टेवा दिएको बताए। उनका अनुसार संस्थानले सार्क फुड बैंकमा ३३ हजार मेटि्रक टन खाद्यान्न मौज्दात राखेको जानकारी गराए। उनले भने-‘महाभूकम्पको कहाली लाग्दो अवस्थामा संस्थानले यथाशीघ्र सेवा प्रदान गरेको र खाद्यान्न आपूर्तिलाई सहज बनाएको थियो।

खाद्यवस्तु खरिद, परिचालन, ढुवानी र बिक्री वितरणको क्षेत्रमा अरु विस्तार गर्न संस्थानको सञ्चालक अध्यक्षको जिम्मेवारी लिएपछि आफूले रचनात्मक कार्यको थालनी गरेको उनको भनाइ थियो। खासगरी सिमान्तकृत वर्ग, दलित, जनजाति, सरकारी सेवा सुविधाबाट विमुख वर्ग र समुदायलाई केन्द्रविन्दुमा राखेर खाद्यवस्तुको पहुँच बढाउँदै लैजाने योजना उनले सुनाए। सोही क्षेत्रका परम्परागत स्थानीय उत्पादन सिमी, फापर, उवाजस्ता खाद्य वस्तु खरिद गर्दै हिमाली क्षेत्रबाट उपत्यका लगायत मूख्य सहरहरूमा पुर्‍याइ रहेको उनले बताए। उनका अनुसार राष्ट्रिय पर्वलाई लक्षित गरी उच्च हिमाली जिल्ला मुस्ताङमा जिउँदो च्यांग्रा र तराईबाट खसीबोका खरिद गरेर राजधानी पुर्‍याएर सुपथ मूल्य पसल यस वर्ष पनि निरन्तरता दिएको उनले जानकारी दिए। उनले लामो समयदेखि संस्थान महाप्रवन्धकविहीन भएकाले यथाशीघ्र नियुक्त गर्न उनले आग्रह गरे।

- अादर्श समाज सम्वाददाता