देश बनाएर देखाउन बाँकी छ : ओली

चितवन, १७ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन मिलेर देश बनाउँछन् भन्ने देखाउन बाँकी रहेको बताएका छन्।

संयुक्त वाम गठनबन्धन चितवनले पश्चिम चितवनको माडीमा आइतवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले दाहाल र आफू मिलेर देश बनाउने संकल्प गरेकाले यसलाई साथ दिन आग्रह गरे।

दुर्इ पार्टीमिल्दा पनि दुर्इ चार हजार मतले होइन, भारी मतले यहाँबाट दाहाललाई जिताउनु पर्ने बताउँदै ओलीले भने-‘यो राष्ट्र निर्माणको महान अभियानमा सामेल भईरहेका छौं। तपाईंहरूको पनि यसमा साथ चाहिन्छ।’ उनले अगाडि भने-‘यसलाई सफल पार्न म खटिईरहेको छु, तपाईंहरू पनि आ-आफ्नो ठाउँबाट खट्नुहोस्।’ समय अभावले दुर्इ पार्टीएकीकरण हुन नसकेको भन्दै उनले वाम गठबन्धनलाई तमाम कार्यकर्ताले स्वागत गरेको बताए।

आज देश वामपन्थीको भएको भन्दै उनले भने-‘आज माडी जागेको छ, चितवन जागेको छ र देश नै जागेको छ।’ पुष्पकमल दाहाल प्रचण्डले माडीलाई मणि बनाउने बताएको भन्दै ओलीले माडीलाई मणि बनाउने काममा आफ्नो पनि साथ रहने बताए।

निर्वाचनमा कसैले धाँधली गर्न नसक्ने भन्दै उनले राजतन्त्र र तानाशाही शासन फालेर आएका वाम गठबन्धनका कार्यकर्ता निष्पक्ष र धाँदलीरहित निर्वाचन गराउन सक्षम रहेको बताए।

नेपाली काँग्रेसले चितवन क्षेत्र नं. ३ मा राप्रपा(प्रजातान्त्रिक) का विक्रम पाण्डेलाई साथ दिएकोप्रति इंगित गर्दै ओलीले काँग्रेसले रुख काटेर हलो बनाएको बताए।

ओलीले भने-‘काँग्रेस कार्यकर्ताको मनमा पीडा छ, नआत्तिनुहोस्, काँग्रेसले खोजेको राष्ट्रियता हामी दिन्छौं।’ उनले वाम गठबन्धनलाई मतदान गरी राष्ट्र बनाउने पुण्य कार्यमा लाग्न पनि आग्रह गरे। देशलाई माया गर्ने, राष्ट्र, राष्ट्रियता र सामाजिक सद्भाव चाहने व्यक्तिहरू अब अल्मिलिन नहुने बताउँदै ओलीले अल्मलिएकाहरू वाम गठबन्धनमा आइरहेको बताए।

ओलीले मतपत्रको सुरक्षा गर्न एमाले र माओवादी नेता तथा कार्यर्कर्तालाई निर्देशन पनि दिए। ओलीले मतपत्र र पेटिकाबाट आँखा झिमिक्क हुन नदिन निर्देशन दिएका हुन्।

‘तपार्इंहरू सचेत हुनुहोस, मतपेटिकाबाट आँखा झिमिक्क हुन नदिनुस् अध्यक्ष ओलीले भने-‘ढुक्क सँग मतदान गर्नुहोस्, कसैले केही गर्न सकदैन, एमाले र माओवादी एक साथ छन्, निर्वाचनमा केही तलमाथि गर्न खोज्नेले केही गर्न सकदैन।’

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको बताउँदै त्यतिबेला आफू रोल्पा रहेको र त्यहीबाट माफि मागेको बताए।

बाँदरमुढे घटनाका पीडित परिवारसँग सम्झौता गरेको भन्दै उनले त्यसको अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गरे। बाँदरमुढे घटनालाई बाहाना बनाएर राजनीति गर्ने काम भईरहेको भन्दै उनले घटनालाई राजनीति गर्नुभन्दा पीडितलाई मल्हम पटि्टी गर्ने तर्फ लाग्नुपर्ने बताए। पीडितलाई शान्ति सम्झौता लगत्तै भेटेर आफूले सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरेको दाहालले स्मरण गराए। चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका दाहालले सो क्षेत्रमा आफ्ना प्रतिस्पर्धीले मतदातालाई प्रलोभनमा पारेको भन्दै नेपाली जनता भेडाबाख्रा जस्तो खरिद बिक्री नहुने दावी गरे। उनले यहाँका जनताको विवेकमाथि आफूलाई भरोसा भएको बताए। माडीलाई मणि बनाउने आफ्नो अभियानमा केपी ओलीको पनि साथ रहेको बताउँदै दाहालले यहाँको विकासका लागि आफू सधैं लागिरहने बताए। कार्यक्रममा राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री रेशम लामाले नेपाली जनताको चाहना अनुरूपको शान्ति, राष्ट्रियता र राजनीतिक स्थिरताका लागि वाम गठबन्धनमा मत दिन आग्रह गरे।

- अादर्श समाज सम्वाददाता