नयाँ शक्ति संयोजक भट्टराईले मागे राप्रपाका पाण्डेलाई भोट

चितवन, १७ मंसिर। नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई भोट मागेका छन्।

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पाण्डेलाई भोट माग्न आइतवार भट्टराई चितवन आएका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वाम गठबन्धनबाट उम्मेदवार रहेको सो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन भट्टराई आएका हुन्।

आइतवार भरतपुरमा आयोजित आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाहरूको भूमिका विषयक अन्तरक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने-‘माक्सले परिभाषित गरेको समाजवाद अहिले लागू हुन सक्दैन समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता हो।’

वामपन्थको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलत अहिलेको आवश्यकता रहेको बताउँदै उनले लोकतन्त्रवादीहरू नवउदारवादको सट्टा सामाजिक हितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानु पर्ने बताए। अहिलेको बाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने उनको भनाइ थियो। संसारमा नै असफल भएको कम्युनिष्ट धारमा वामगठबन्धन लागेको बताउँदै उनले भने-‘अब मुलुक नयाँ समाजवादी प्रजातन्त्रमा जानु पर्छ, तर वामपन्थी पुरानै बाटोमा हिँड्नु भएको छ।’ यही कारणबाट आफूहरू वाम गठबन्धनबाट छुटि्टएको उनले बताए।

राज्य सत्तामा आम जनताको सहभागिता हुनु पर्ने भन्दै उनले वाम गठबन्धनले लोकतन्त्रलाई खतरा भएको बताए। अहिले संविधान कार्यान्वयनसँगै लोकतन्त्रको रक्षा पनि गर्नुपर्ने समय आएको बताउँदै उनले लोकतन्त्र भनेको आधारभूत मान्यताहरूको रक्षा गर्ने शक्ति भएको बताए। लोकतान्त्रिक शक्तिहरूको विजयबाट मात्रै संविधान र लोकतन्त्रको रक्षा हुने बताउँदै उनले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आह्वान गरे।

सोही कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले साम्यवादले जितेमा जनताले बोल्न र लेख्न नपाउने बताए। आगामी निर्वाचनले जनताको भाग्य रेखा कोर्ने बताउँदै उनले भने-‘वामपन्थीहरूले जितेमा संगठित हुने, लेख्ने, बोल्ने अधिकार गुम्छ, त्यसैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्छ।’ लोकतन्त्रले स्थिरता दिने बताउँदै उनले स्थिरताले विकास हुने बताए। उनले भने-‘तानाशाहले विकास गर्न सक्दैनन्। विश्वमा कहि पनि तानाशाहले विकास गर्न सकेका छैनन्।’ लोकतन्त्रमा मात्रै विकास सम्भव हुने बताउँदै उनले भने-‘विकासको पर्यायवाची लोकतन्त्र हो।’ लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको बताउँदै उनले अहिले लोकतन्त्रको पक्षमा जनमत रहेको बताए।

सोही कार्यक्रममा बोल्दै वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले लोकतान्त्रिक शक्तिले जनताको पक्षमा काम गर्ने बताए। विकास र लोकतन्त्र पर्यावाची शब्द भएको बताउँदै पाण्डेले वाम गठबन्धनले देश विकास गर्न नसक्ने दावी गरे।

प्रजातन्त्रवादी प्राध्यापक संघ चितवन, नेपाल शिक्षक संघ चितवन, वीपी चिन्तन प्रतिष्ठान, नेशनल कोअपरेटिभ एलाईन्स, प्रजातान्त्रिक बिचार समाज, लोकतान्त्रिक गैर सरकारी संस्थाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका थिए।

- अादर्श समाज सम्वाददाता