सुरक्षा प्रभावकारी बनाऊःआयोग

काठमाडौं, १४ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनमा मतदाताले निर्भीकतापूर्वक मतदान गर्ने वातावरण निर्माणका लागि सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।

निर्वाचन प्रचार प्रसारका क्रममा बम विष्फोट र उम्मेदवारकेन्द्रित आक्रमणले निरन्तरता पाउँदै गइरहेको बेला निर्वाचन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । अज्ञात समूहको बम विष्फोट र आक्रमणबाट दाङमा एक म्यादी प्रहरीको मृत्यु भइसकेको छ भने उदयपुरमा उम्मेदवार नै गम्भीर घाइते भएका छन् । अन्य थुप्रै जिल्लामा उम्मेदवार र प्रचारप्रसारका गतिविधिलक्षित गरी बम विष्फोटका घटना निरन्तर जारी छ ।

दोस्रो चरणमा हुने ४५ जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले खटाएका सूक्ष्म अनुगमनकर्ताका लागि बिहीबार काठमाडौमा आयोजित अभिमुखीकरण कार्यक्रममा यादवले मतदाता, उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारी, मतदान सामग्रीको सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गरे । निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन आयोगले जिल्ला-जिल्लामा सूक्ष्म अनुगमनकर्ता खटाएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले जिल्लामा दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको र मतदातालाई प्रलोभनमा पारे नपारेको जस्ता विषयमा सूक्ष्म अनुगमन गरी तत्कालै आयोगमा जानकारी दिन सूक्ष्म अनुगमनकर्तालाई निर्देशन दिए । आयोगले दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा उपसचिवस्तरका ८८ जना कर्मचारीलाई मंसिर १५ देखि २२ गतेसम्म सूक्ष्म अनुगमनकर्ताको रूपमा खटाएको जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले निर्वाचन प्रक्रिया, सूक्ष्म अनुगमनकर्ताको भूमिका र जिम्मेवारी, निर्वाचन आचारसंहिताको पालना र उल्लङ्घन भएमा हुने कारबाहीलगायतका विषयमा सूक्ष्म अनुगमनकर्तालाई प्रशिक्षण दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनमा एउटा सानो कमजोरी र त्रुटिबाट समग्र निर्वाचनप्रति प्रश्न उठ्न सक्ने भएकाले त्यसतर्फ सजग रही सुझबुझका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले भने-‘राजनीतिक दल र उम्मेदवारबाट निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर प्रचार प्रसार भएको छ कि छैन, उल्लङ्घन भएको छ भने पालना गराउनुपर्छ, त्यसले मतदातालाई स्वतन्त्र भएर मतदान गर्ने वातावरण बनाउँदछ ।’

प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदान प्रक्रिया स्वस्थ हुनुपर्ने भन्दै ठूलो संख्यामा मतदाताको सहभागिता बढाउने आयोगको लक्ष्य रहेको बताए । मतदातामैत्री वातावरण बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

आयुक्त सुधीरकुमार शाहले निष्पक्ष, स्वतन्त्र र स्वच्छ ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने कार्यमा इटा थप्ने ढङ्गबाट काम गर्न र यथार्थपरक प्रतिवेदन नियमितरूपमा आयोगका सम्बद्ध अधिकारीसमक्ष पेश गर्न सूक्ष्म अनुगमनकर्ताहरुलाई निर्देशन दिए । यसैबीच, नेकपा एमालेले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगोल अवस्था सिर्जना गरिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ । केन्द्रीय निर्वाचन परिचालन कमिटीको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो ।  निर्वाचन आचारसंहिताविपरीत राज्यकोषबाट रु १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिएको एमालेको आरोप छ। नेपाल प्रहरीमा चार प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासन संरचनालाई भत्काउन खोजिएको भन्दै त्यस्ता काम रोक्न एमालेले आग्रह गरेको छ।

- अादर्श समाज सम्वाददाता