कास्की क्षेत्र १ का काँग्रेस उम्मेदवार

प्रदेश राजधानी लेखनाथमा राख्छु

२०३२ सालमा साविक थुम्की गाविसमा जन्मिएका जीवन परियार कमजोर परिवारमा हुर्केका हुन्। दलित गाउँको सामाजिक परिवेशमा जन्मे हुर्केका उनको बाल्यकाल अत्यन्तै कहालीलाग्दो थियो। जानेबुझेदेखि राजनीतिमा लागेका परियार सामाजिक हिसाबले पनि स्थापित छन्। २०४६ सालको जनआन्दोलनसँगै नेपाल विद्यार्थी संघको संगठनमा रहेर राजनीतिमा प्रवेश गरेका उनी चुनौतीपूर्ण संघर्ष पार गर्दै हाल नेपाली काँग्रेसका सक्रिय सदस्यको रुपमा कार्यरत छन्। उनी २०४६ मा लमजुङस्थित इशानेश्वर मावि भोलेटारमा नेविसंघ सदस्य थिए। २०४८ देखि २०५४ सम्म पृथ्वीनारायण क्याम्पसमा नेविसंघका विभिन्न पदमा रहेर काम गरे।

२०५५ सालमा नेपाल दलित संघ कास्कीको संस्थापक सचिव भएका उनी २०५७ मा नेपाल दलित संघ केन्द्रिय कार्यसमितिको प्रचार सचिव थिए। २०५९ मा नेपाल दलित संघ केन्द्रिय कार्य समिति सचिव भएपछि परियार ०६२ सालमा काँग्रेसको ११ औं महाधिवेशनमा कास्की क्षेत्र १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए। २०६३ देखि ०६९ सालसम्म २ कार्यकाल नेपाल दलित संघको केन्द्रिय महासचिव भई काम गरिसकेका परियार २०६७ देखि हालसम्म काँग्रेसको निरन्तर २ कार्यकाल निर्वाचित केन्द्रिय सदस्य छन्। उनी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फवाट सभासद भए। समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर उत्तीर्ण उनी कानुनी विषयमा स्नातक गरी अधिवक्ताको लाइसेन्ससमेत लिएका छन्।

तत्कालीन समयमा निकै कठिन परिस्थितिबाट राजनीतिमा हात हालेका परियार राजनीतिक जीवनको करिब ३० वर्ष लामो संघर्षपछि हाल कास्की क्षेत्र १ अन्तर्गत प्रदेशसभा (क) बाट प्रत्यक्ष उम्मेदवार बनेका छन्। निकै मिजासिला स्वभावका परियार राजनीतिसँगसगै पिछडिएको दलित समुदायलाई जागरणको माध्यमबाट सामाजिक, आर्थिक र राजनीतिको पनि मूलप्रवाहमा ल्याउने दलित आन्दोलनका नायक हुन्।

परियारले पहिलो प्राथमिकताका रुपमा राजधानी र सम्बद्ध कार्यालय तथा मन्त्रालयको ब्यवस्थापनलाई राखेको बताएका छन्। उनले पोखरा निर्विकल्प राजधानी भएको बताउँदै पोखरामा आवश्यक जग्गा जमिन नभएकोले लेखनाथमा राजधानी राख्ने प्रस्ताव अघि सारेका छन्। पोखरा अब भरिसकेको छ। व्यवस्थित हिसाबले मन्त्रालय राख्न पर्याप्त जग्गा लेखनाथमा छ’-उनले भने-‘अब लेखनाथ राजधानी हुन्छ। त्यसको ब्यवस्थापन गर्ने क्षमता हामीसँग छ।’ आफ्नो क्षेत्रको समृद्धि र विकासका नारासहित चुनावी मैदानमा होमिएका परियार नमूना क्षेत्रको रुपमा स्थापित गर्ने प्रतिबद्धतामा छन्। सुकुम्बासी समस्या समाधान आफ्नो मुख्य काम हुने उनको भनाइ छ। ‘सुकुम्बासीको सुव्यवस्थित ब्यवस्थापनमा मेरो बढी चासो छ। त्यसबाहेक यहाँको अध्ययन गरेर आवश्यकता अनुसार योजना अघि सार्छु-उनी भन्छन्-‘चुनाव जित्नकै लागि मैले यस्तो भनिरहेको छैन। यसका लागि पहिलेदेखि नै सोच मैले बनाइरहेको छु।’ उनले लेखनाथलाई घुम्नलायक शहर बनाउने र पर्यटक बढाउन लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।

‘लेखनाथमा पर्यटकीय सडक संरचना बनाउँछु। सबै सडकमा सौर्यबत्ती ब्यवस्थापन गर्छु-उनले भने-‘यसलाई घुम्नलायक सुन्दर शहर बनाउने परिकल्पना मसँग छ।’ ग्रामीण क्षेत्रमा एकीकृत बस्ती विकास गरी विकासका सबै पूर्वाधार पुर्‍याउने र नमूना क्षेत्रका रुपमा देशभर परिचित गराउने उनको दावी छ।

जग हालेका योजना पूरा गर्छु

२०१४ साल वैशाख ७ गते जन्मिएका यज्ञबहादुर थापा नेपाली काँग्रेसबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री छन्। सक्रिय जीवन राजनीतिमा होमिएका उनले राजनीति शास्त्रमा स्नातक पास गरेका छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनी १८ वर्षकै उमेरमा (२०३२ साल) नेविसंघ कास्कीका सचिव बनेका थिए। त्यसपछि उनी विभिन्न पदमा रहेर काम गरिसकेका राजनीतिज्ञ हुन्। २०३६ सालमा नेपाली काँग्रेस बहुदल प्रचार समिति कास्कीको महामन्त्री बने भने २०३७ मा नेविसंघका केन्द्रिय उपाध्यक्षसम्म बने।

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि थापाले विभिन्न समयमा झण्डै १ वर्ष जेलजीवन बिताएका छन्। २०४९ को स्थानीय चुनावमा थापा जिल्ला विकास समिति कास्कीको उपसभापति भएका थिए। २०५० मा काँग्रेस कास्कीको सचिव र २०५५ मा काँग्रेसको उपसभापति हुँदै २०६१ पछि लगातार २ कार्यकाल (२०६१ देखि २०७२ सम्म) सभापति भएर नेतृत्व गरे। यही अवधिमा उनले नेपाली काँग्रेस पश्चिामाञ्चल समन्वय समितिको सचिव समेत भएर काम गरिसकेका छन्।

२०६४ को पहिलो स्थानीय चुनावमा कास्की क्षेत्र १ बाट पराजित थापा २०७० मा सोही क्षेत्रबाट विजयी भएर २०७४ साउनदेखि हालसम्म पनि मन्त्रीकै हैसियतमा कार्यरत छन्। पहिलो संविधानसभा हार व्यहोरे पनि उनले दोस्रो संविधानसभा निर्वाचनमा हाल पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई झिनो मतान्तरले हराएका थिए। जिसी त्यसबेला नेकपा एमालेबाट उम्मेदवार थिए।

नेपाली काँग्रेस प्रतिबन्धित हुँदाताका २०३६ सालमा पार्टीको मुखपत्र नेपाल पुकारका लागि उम्मेदवार थापाले काम गरेका थिए। कडा मिजासिलो स्वभावका उनी सामाजिक रुपमा पनि स्थापित छन्। पोखरा विकासका एजेण्डामा थापाले संसद्मै पनि निर्धक्क भएर आफ्ना योजना प्रस्तुत गरेका थिए। उनकै सक्रियतामा सिक्लेस सिसाघाट -मादी कोरिडोर) सडकलाई रातो किताबमा समावेश गरेर बजेट विनियोजन गरी पहिलो चरणको काम भएको थियो। अन्तर्राष्ट्रियस्तरको सिलि्गे सम्मेलन केन्द्र, क्षेत्रीय बसपार्क, रुपाताल विकास परियोजना उनकै सक्रियताले अघि बढेका छन्। यद्यपि सम्मलेन केन्द्र र बसपार्क निर्माणले गति लिन सकेको भने छैन।

नेपाली काँग्रेस कास्की क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापाले आफ्नो उम्मेदवारी नै पुराना योजना पूरा गर्न भएको बताएका छन्। ‘मेरो कार्यकालमा धेरै राम्रा योजना अघि सारेको छु। केही योजना पूरा भैसके, केही बाँकी छन्’-उनले भने-‘यो उम्मेदवारी नै बाँकी योजना पूरा गर्नका लागि हो। अधुरा सबै योजना अबको कार्यकालमा सफल गर्नेछु।’

उनले केही नयाँ योजना पनि अघि सारेका छन्। पचभैयामा निर्माणाधीन प्राकृतिक चिडियाखाना पूरा गर्ने, ताल संरक्षणका कार्यक्रम ल्याउने, गाउँ र शहर जोड्ने सडक निर्माण तथा स्तरोन्नति, सात ताल लिंकरोड, विभिन्न ठाउँमा पैदलमार्ग निर्माण, पर्यटन विकास, कृषिमा आत्मनिर्भर, जलविद्युत् उत्पादनका योजना उनको छ। क्षेत्र नम्बर १ कृषि र जलविद्युत् हिसाबले बलियो छ। यहीँको उत्पादनले कास्कीको पूरा माग धान्नेछ’-थापाले भने-‘तर त्यसका लागि नयाँ कार्यक्रम आवश्यक छ। म त्यसका लागि प्रतिबद्ध छु।’

खोला र नदीमा पक्की पुल, व्यवस्थित शहर निर्माण, ग्रामीण क्षेत्रमा होम स्टे सञ्चालन, डाँडा तथा कोटहरुमा भ्यू टावर निर्माण लगायत योजना पनि उनको प्राथमिकतामा छ। थापाले आफ्नो उम्मेदवारीले कास्की क्षेत्र १ का जनताको शीर उचो हुने दावी गरे।

गाउँगाउँमा पर्यटक पुर्‍याउँछु

मेरो उम्मेदवारी जनताको चाहना

कास्की क्षेत्र नम्बर १ बढी नेता जन्माउने थलो। तारानाथ रानाभाटदेखि काँग्रेसका महान् नेता यस क्षेत्रले जन्मायो। त्यतिमात्रै होइन, यो क्षेत्र नेपाली राजनीतिका लागि बढी भाग्यमानी क्षेत्र पनि हो। यहाँबाट विजयी भएका उम्मेदवार देशको उच्च ओहोदामा पुगेर काम गरिसकेका छन्। पूर्वमन्त्री तथा सभामुख रानाभाट, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, हालका कानुनमन्त्री यज्ञबहादुर थापा क्षेत्र १ का विजेता हुन्। अहिले उस्तै सम्भावना बोकेका नेता क्षेत्र १ बाट प्रतिष्पर्धामा छन्।

क्षेत्र १ प्रदेशसभा (ख) बाट काँग्रेसमा एउटा आशालाग्दो नेता उम्मेदवार बनेका छन्। काँग्रेसबाट जिल्ला सभापति समेत रहेका कृष्णबहादुर केसी यो क्षेत्रको प्रमुख दावेदार हुन्। २०१७ सालमा कालिकामा जन्मिएका केसी वामपन्थी पृष्ठभूमिबाट राजनीतिमा छिरेका हुन्। जानकार भएदेखि उनको पूरै विद्यार्थी जीवन सक्रिय राजनीतिमा बित्यो। स्थानीय जनज्योति स्कुलबाट मावि तहको पढाइ पूरा गरेका केसीले पृथ्वीनारायण क्याम्पसमा बीए सम्मको अध्ययन गरे। राजनीतिक भूमिकामा रहँदा उनको कौशलता सफल भएको पनि छ।

राजनीतिमा लामो समय बिताएका केसी काँग्रेस कास्की क्षेत्र १ अन्तर्गत इलाका नं ४ को संयोजक भएर काम गरे। २०३६ मा विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीति थालेका उनी ०४३ सालमा पञ्चायती शासनविरुद्ध उभिएर सार्वजनिक मुद्दा खेप्दै अघि बढेका हुन्। ०४६ सालको प्रजातान्त्रिक आन्दोलमा सहभागी हुँदा ३ महिना जेल सजाय भोगेका उनी ०४९ मा काँग्रेसबाट कालिकाको उपाध्यक्ष उम्मेदवार भए। ०५० मा गालिका गाउँ इकाइ सभापतिहुँदै ०५४ मा जिल्ला विकास समिति कास्कीको सदस्य उम्मेदवार बने।

तीन महिना जेल सजाय भोगेका उनले २०६२/०६३ को संयुक्त जनआन्दोलनमा कास्की क्षेत्र १ काँग्रेसबाट नेतृत्वदायी भूमिका निर्वाह गरे। केसी काँग्रेसको १० औं र ११ औं महाधिवेशनबाट लगातार कास्की क्षेत्र १ को क्षेत्रीय सभापति भए भने १२ औं मा जिल्ला सचिव र १३ औं महाधिवेशन अवसरमा जिल्ला सभापतिमा निर्वाचित भए।

५६ वर्षे केसीले आफ्नो निर्वाचन क्षेत्रलाई पर्यटन, बिद्युतीकरण र जडिबुटीको उचित ब्यवस्थापन गरेर नमूना क्षेत्रका रुपमा स्थापित गर्ने बताउँछन्। सडक सञ्जाल नहुँदा दुर्गम बनेको आफ्नो क्षेत्रको विकासका लागि सडक स्तरोन्नति, विजयपुर खोलामा पक्की पुल, मादीमा पुल निर्माण गर्ने र सबै गाउँमा सजिलै मोटर चल्न सक्ने बनाउने केसीले बताए।

‘यो क्षेत्र पोखराबाट निकट तर विकट छ। कसैले यहाँका जनताको दुःख बुझेनन्’-उनले भने-‘अहिले जनताकै चाहनाले मैले उम्मेदवारी दिएको हुँ। अब यो क्षेत्रको कायापलट हुनेछ।’ सुकुम्बासी ब्यवस्थापन, विमानस्थल निर्माण, सिक्लेस सिसाघाट (मादी कोरिडोर) निर्माण र जलविद्युत् आयोजना स्थापना गरेर जनतालाई समृद्ध बनाउने केसी बताउँछन्। भर्खरै निर्माणको चर्चा चलेको मध्यपहाडी लोकमार्गलाई आफ्नै निर्वाचन क्षेत्रबीचबाट चिरेर ग्रामीण ठाउँमा शहर स्थापना गर्ने उनको योजना छ।

अन्नपूर्ण हिमालको नजिकबाट दृष्यावलोकनका लागि सिक्लेसमा केवलकार निर्माण गर्ने योजना अघि सारेका छन्, केसीले। गुरुङको सांस्कृतिक संरक्षण गर्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न स्वरोजगारका कार्यक्रम थालनी गर्ने, एक गाउँ एक खेलमैदानको व्यवस्था गर्ने, मादी, रुदी रर्र् इदीमा वातावरणीय मूल्यांकन गरी विद्युत् उत्पादन सम्भाव्यताको खोजी गर्ने र विद्युत् उत्पादनका लागि लगानीमैत्री वातावरण सृजना गर्ने कार्यक्रमलाई प्राथमिकता दिएका छन्।

- अादर्श समाज सम्वाददाता