हिन्दू राष्ट्रका लागि जनमतसंग्रह : केसी

पोखरा, १४ मंसिर। नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार तथा उद्योगपति सूर्यबहादुर केसीले जनमतसंग्रहबाट हिन्दू राष्ट्र स्थापना गराउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय परोपकार ज्येष्ठ नागरिक मिलन केन्द्र दीवा सेवाद्वारा पोखरामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले संविधानसभाको सुझाव संकलनका बेला ९० प्रतिशत नेपाली जनताको हिन्दू राष्ट्र राख्नुपर्ने माग हुँदाहुँदै पनि देशलाई धर्म निरपेक्ष बनाइएकोमा आपत्ति समेत व्यक्त गरे।

हिन्दू राष्ट्र राख्ने वा नराख्ने भन्ने विषय जनताका प्रतिनिधिले भन्दा नेपाली जनताले नै निर्णय गर्नुपर्ने विषय भएको हुँदा यसलाई जनमतसंग्रहमार्फत नै टुंगाउनुपर्ने उनले बताए। ‘çकार मान्ने हामी नेपालीहरुले सबै धर्मको सम्मान गरेका छौं, तर धर्म निरपेक्ष बनाइनुले नेपालीको अपमान भएको छ’- केसीले भने।

पूर्व सभासद समेत रहेका काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीले परम्परा र संस्कृति जोगाउनुनै हिन्दू धर्म भएकोले मानिसको आचरण परिवर्तन धर्मले गर्ने हुँदा यसको रक्षा गरे मानिसको रक्षा हुने बताए।

आफूले आहारविहारमा ध्यान नदिँदा बिरामी परेको भन्दै उनले ज्येष्ठ नागरिकलाई आहार विहारमा ध्यान दिएर रमाइलोसँग जीवन जिउन समेत सुझाव दिए।

राष्ट्रिय परोपकार महासंघका अध्यक्ष युवापण्डित कमलनयन गौतमले ज्येष्ठ नागरिकलाई भेला हुने र मनका बह व्यक्त गर्न मिलन केन्द्र स्थापना गरेको जानकारी दिए। उनले मिलन केन्द्रबाट प्रवचन, नाचगान र भजनकीतनमार्फत ज्येष्ठ नागरिकका दुःख सुखका कुरा आदानप्रदान भएको बताए। केन्द्रले आर्थिक रुपमा विपन्न ८४ वर्ष उमेर पुगेकालाई चौरासी पूजा, जन्मदिन, पितृको सम्झनामा पूण्यतीथि र श्राद्ध गराउने गर्ने गरेको जनाए।

ज्येष्ठ नागरिकको दिउँसोको समय आनन्ददायी र भक्तिमय बनाउन दैनिक बिहान ११ देखि ३ बजेसम्म पोखराको चाउथेस्थित बहुउद्देश्यीय सामाजिक भवनमा उनीहरुलाई निःशुल्क राख्ने व्यवस्था मिलाइएको छ। केन्द्रमा हाल दैनिक ८० जना वृद्धवृद्धा आउँछन्। संस्थाले ज्येष्ठ नागरिकलाई विभिन्न धार्मिक संस्थाहरुको भ्रमण गराउँदैआएको छ।

। संस्था स्थापनापछि धार्मिक ज्ञान लिँंदै समय बिताउन सजिलो भएको ज्येष्ठ नागरिकले बताए। कार्यक्रममा राष्ट्रिय परोपकार ज्येष्ठ नागरिक मिलन केन्द्र १४ चाउथेका अध्यक्ष रामकृष्ण थापालगायत बोलेका थिए।

- एजेन्सी