कम्युनिष्टलाई कसैले पत्याउँदैन

पोखरा, १३ मंसिर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताएका छन्। कम्युनिष्टलाई स्वदेशी मात्र होइन विदेशीले समेत नपत्याउने भन्दै मुलुकको समृद्धि काँग्रेसले मात्र गर्ने बताए।

पोखरामा बुधबार आयोजित काँग्रेसको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले समृद्धिका लागि विदेशी लगानी भित्रिनुपर्ने बताए। कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै उनले त्यस्तो बेला कसरी समृद्धि आउँछ ? भनेर प्रश्न गरे। विदेशीले काँग्रेसलाई मात्र पत्याउने र काँग्रेसले मात्र समृद्धी र विकास गर्ने उनको भनाइ थियो।

काँग्रेस सभापति देउवाले देश कम्युनिष्ट शासनमा जाने कि लोकतन्त्रमा भन्ने गम्भीर मोडमा उभिएको बताए। कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै उनले भोट हाल्नुअघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र निक्यौर्ल गर्न आग्रह गरे।

लोकतन्त्र बचाउने कि एकात्मक सत्ता दिने- जनताले सोच्नु पर्छ’-उनले भने-‘लोकतन्त्र बचे हामी सबैको हित हुन्छ, अधिनायकवाद आए पाएको उपलब्धी गुम्छ। संविधान खारेज हुन्छ र लोकतन्त्र समाप्त हुन्छ।’

कम्युनिष्टले जितेमा बोल्न, लेख्न नपाउने र  र व्यक्तिगत सम्पत्तिको स्वतन्त्रता पनि नहुने उनको भनाइ थियो। ‘कांग्रेसको नेतृत्वमा राणा, पञ्चायत र राजतन्त्रको अन्त्य भएको हो’- उनले भने-‘लोकतन्त्रको थप सुदृढीकरणका लागि कांग्रेसले जित्नु आवश्यक छ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले दुनियाले रड्डीको टोकरीमा फालिसकेको साम्यवाद कम्युनिष्टहरुले नेपालमा प्रयोग गर्न लागेको आरोप लगाए। ‘दुनियाले रड्डीको टोकरीमा फालेको साम्यवाद नेपालमा परीक्षणका लागि ल्याउन खोज्दैछन्, के नेपाल कन्टेनर हो र जे कुरा पनि परीक्षण गर्न नेपाल ल्याउने -’

वरिष्ठ नेता पौडेलले बाम गठबन्धन राष्ट्र, लोकतन्त्र र जनता कसैको पनि पक्षमा नभएको जिकिर गरे। पौडेलले कम्युनिष्टले भनेजस्तो राष्ट्रपतीय शासन लागू भए देश निरंकुशतातर्फ जाने दाबी गरे। नेपालका कम्युनिष्टले समस्यामात्र जन्माउने तर कहिल्यै समाधान नदिने उनको भनाइ थियो।

काँग्रेस महामन्त्री शंशाक कोइरालाले १० वर्षमा देशको अर्थतन्त्रमा कायापलट हुने गरी परिवर्तन गरिने उनले बताए। उनले नेपालमा मोबाईलदेखि विश्वविद्यालय सबै काँग्रेसकै कारण विकास भएको बताए।

सभामा उद्योगपति बिनोद चौधरीले मुलुकमा राजनीतिक मुद्धा सबै सकिएको र अब आर्थिक क्रान्तिको आवश्यक रहेको बताए। काँग्रेस नेता तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँडले राणा, पञ्चायत, राजा फालेको काँग्रेसले अब एमाले फाल्ने बताए।

काँग्रेस नेता सूर्यबहादुर केसीले एमाले माओवादीजस्तो केटाकेटीसँग लागेर बिग्रिएको आरोप लगाए। अर्का नेता कुमार खड्काले बामपन्थी एकता राष्ट्रका लागि अभिशाप भन्दै आफूलाई अत्यन्त पीडा भएको बताए।

पार्टीकास्कीका कार्यवाहक सभापति सुदिपमोहन भट्टराईको अध्यक्षतामा भएको सभामा केन्द्रीय सदस्य रामशरण महत, धनराज गुरुङ, कास्कीका तीनै क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार, प्रदेशसभा उम्मेदवारले बोलेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत भएको थियो।

यसैगरी प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय निर्वाचन परिचालन संयोजक बालकृष्ण खाँणले स्याङ्जाका दुर्इ निर्वाचन क्षेत्रमा सम्वोधन गरेका छन्। स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकाको खेलमैदानमा चुनावी आमसभालाई प्रधानमन्त्री सहितका नेताले सम्वोधन गरेका हुन्।

- अादर्श समाज सम्वाददाता