देश र जनता मेरो सवोपरी

देशमा २०४६ सालको पहिलो जनआन्दोलन चल्दै गर्दा दीपक ११ बर्षका थिए। २०३५ सालमा जन्मिएका उनी ११ बर्षपुग्दा नपुग्दै राजनीतिमा छिरिसकेका थिए। आन्दोलन नै उनको पहिलो राजनीतिक यात्राको थालनी थियो। गोरखाको मसेलमा जन्मिएर २०४७ मा परिवारसँगै चितवन बसाईसरेपनि उनी उतै हुर्केका थिए। तर राजनीतिले उनलाई चितवनमा मात्रै सीमित गरेन। धेरै मेहिनत र प्रयासपछि कास्कीमा कोइरालाको उम्मेदवारी छ। काँचो उमेरमै राजनीतिमा लागेपछि उनले प्रमाण पत्र तह मात्रै पूरा गर्न सके। २०४९ मा वाईसीएल र अखिल (क्रान्तिकारी) मा लागेर उनले सक्रिय राजनीति थाले।

कोइराला क्रान्तिकारीको विद्यालय इकाई कमिटी सदस्य, इलाका सदस्य हुँदै २०५४ मा इलाका अध्यक्ष बने। २०५४ फागुन २१ गते नेकपा (माओवादी) को पार्टीसदस्यता लिएका उनी त्यसपछि पूर्णकालीन जनयुद्धमा होमिए। २०५६ मा इलाका सदस्य, २०५७ मा जिल्ला सदस्य, २०५८ मा उपब्युरो सदस्य, २०५९ मा क्षेत्रीय ब्युरो सदस्य हुँदै २०५५ मा लडाकु दस्ता (स्क्वायड) को जिल्ला सहकमाण्डर भएका थिए। २०५६ बाट नियमित जनमुक्ति सेनामा सहभागी भएका कोइराला लाटुन सदस्य, सेक्सन सहकमाण्डर, सेक्सन कमाण्डर हुँदै २०५८ सालमा कास्की जिल्लाको प्लाटुन कमाण्डर बन्न आइपुगे।

उनले २०५९ सालमा कम्पनी कमाण्डर, २०६० मा बटालियन सहकमाण्डर, २०६१ बटालियन कमाण्डर, २०६३ मा ब्रिगेड कमाण्डर भएर काम गरे। कोइराला २०६२/०६३ को जनआन्दोलनपछि गठन भएको वाईसिएल को कास्की अध्यक्ष भएर काम गरे भने उतिबेलै वाईसीएलकै तमुवान संयोजक पनि बने। त्यसपछि पार्टीको छैठौं जिल्ला अधिवेशनबाट कास्की अध्यक्षमा निर्वाचित भएका कोइराला हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला सह इन्चार्जका रुपमा कार्यरत छन्।

कोइराला खेलकुद र सामाजिक क्षेत्रमा पनि परिचित छन्। २०६८ देखि ०७२ सम्म उनले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष भएर काम गरेपछि २०७२ पछि आठ महिना नेपाल क्रिकेट संघको उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्ष बने। उनी हाल पोखरा विश्वविद्यालयको सभासद छन् भने बार्दली सहकारीको सल्लाहकार, नेपाल ट्रायथलन संघको केन्द्रीय उपाध्यक्षको भूमिकामा छन्। कोइरालाले भारत, बेलायत, चिन, जापान लगाएतका देशमा भ्रमण गरी अनुभव बटुलेका छन्। लामो समयको राजनीतिक यात्रापछि कोइराला हाल कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा वाम गठबन्धनका साझा उम्मेदवार भएर प्रस्तुत भएका छन्। उनले जनता र देशको हित हुने गरी योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले पोखरा र समग्र कास्कीकै विकासमा उल्लेख्य खाका तयार गर्ने बताए। लेखनाथका सातवटै ताललाई जोडेर लिकंरोड बनाउने र पर्यटकलाई आकषिर्त गर्ने उनको योजना छ। कृषिको आधुनिकरणसँगै यस क्षेत्रका तालहरुमा आय आर्जनका लागि ब्यवसायिक माछा पालनमा युवालाई प्रोत्साहन गर्ने कोइाराला बताउँछन्।

‘हाम्रो समस्या भनेकै बेरोजगार युवा हुन्। उनीहरुलाई विभिन्न तालिमको ब्यवस्था गरेर स्वरोजगार बनाउन सकिन्छ’-उनी भन्छन्-‘त्यसका लागि भिजन चाहिन्छ। मैले यसको अग्रसरता लिन सक्छु।’

यसबाहेक कोइरालाले गाउँपालिकाको केन्द्रमा बैंकका शाखा स्थापना गर्ने, प्रकृतिक स्रोत र साधनको अधिकतम उपयोग गरी जग्गाको खण्डीकरणलाई नियन्त्रण गर्ने, जातिय भेदभाव तथा छुवाछुतको पूर्ण उन्मुलन गर्ने, उत्पीडित समुदायको परम्परागत पेशा, कला र सीपको संरक्षण गर्दै आधुनिकीकरण र ब्यवसायिकरणतर्फ उन्मुख गराउने योजना पनि अघि सारेका छन्। दलित समुदायका बालबालीकालाई उच्च शिक्षासम्म निशुल्क अध्यापनको ब्यवास्था मिलाउने, एकिकृत रुपाताल क्षेत्र विकास परियोजनालाई प्रभावकारी हिसावले कार्यान्वयन गर्ने र भण्डारढीक खेलमैदानलाई ब्यवस्थित रंगशालाको रुपमा स्थापित गर्ने कोइरालाको दावी छ।

काममा विश्वास गर्छु

खगराज अधिकारी राजनीतिमा राम्रो छाप छोडेका पूराना नेता। तर उनको सक्रियता सँधै नयाँ हुन्छ। ५६ बषिर्य अधिकारी २०१८ सालमा कास्कीको बेगनासमा जन्मिए। सानै उमेरदेखि उनको चाख राजनीतिमा थियो। १४ बर्षको कलिलै उमेरमा उनले पार्टीसदस्यता लिए। त्यसपछि २०३७ सालमा उनी पूर्णकालीन कार्यकर्ता भएर लागे। त्यसअघि नै अधिकारी २०३६ सालमा अखिलको कास्की जिल्ला अध्यक्ष बने। पूर्णकालिन कार्यकर्ता बनेपछि उनी पिएन क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए भने २०४० र ४१ मा लगातार दुर्इ कार्यकाल पिएन क्याम्पसको स्ववियुमा निर्वाचित भएर विद्यार्थी राजनीति हाँके। उनै अधिकारी सातौं राष्ट्रिय सम्मेलनबाट अखिलको केन्द्रीय उपाध्यक्ष भए भने २०४६ मा कास्कीको जिल्ला सचिव हुँदै ४ कार्यकालसम्म पार्टीको जिल्ला प्रमुख भएर काम गरे।

नेपाली जनताको पक्षमा आवाज उठाएकै आधारमा अधिकारी २०४२ सालमा प्रहरीबाट पक्राउ परे। चार बर्षपछि गौर जेलबाट उनी फरार भए। फरार भएपछि २०४६ मा वाममोर्चा र काँग्रेसको संयुक्त आन्दोलन संयोजन समितिको संयोजक बन्न भ्याए। अधिकारी २०४६ सालमा एमालेबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवार बने तर बिजयी हुन सकेनन्। त्यसपछि २०५१ मा एमालेका सचेतक हुँदै उतिबेलै कास्की १ बाट बिजयी भए।

तर त्यसपछिको राजनीति अधिकारीका लागि फापेन। लगातारको संसदीय चुनावमा (२०५६ र २०६४) पराजीत भएका उनी राष्ट्रिय ताल संरक्षण समितिको अध्यक्ष बन्न पुगे। आठौं महाधिववेशन पश्चात् पार्टीको पोलिटव्यूरो सदस्य तथा गण्डकी अञ्चल इन्चार्जमा निर्वाचित अधिकारी २०७० सालमा सांसद नभएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगे।

मन्त्री हुँदा संसदमा राम्रै उपस्थिती जनाएका अधिकारीले तत्कालीन समयमा रोकिएका धेरै नीति तथा कार्यविधी पारित गर्न उल्लेख्य भूमिका निर्वाह गरे भने औषधीलाई सर्वसुलभ बनाउन पहलकदमी लिए। उनी भारत, चीन, दुर्वई, जापान, पोर्र्चुगल, स्पेन, अमेरिका, कतार, रुस, सिंगापुर, स्वीजरल्याण्ड, थाइलैण्ड लगाएतका देशमा भ्रमण गरिसकेका छन्। लक्ष्मी आदर्श मावि हुँदै अमरसिंह माविबाट विद्यालय स्तरको पढाइ सकेका अधिकारीले पिएन क्याम्पसबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। उनै अधिकारी हाल कास्की १ बाट प्रतिनिधी सभा सदस्यका लागि वाम गठबन्धनको साझा उम्मेदवार छन्।

उम्मेदवारी दर्ता गरेकै दिनदेखि अधिकारीले कास्की र पोखरामा भूमीको वैज्ञानिक ब्यवस्थापन गर्ने बताउँदै आएका छन्। उनले हरेक परिवारमा दुर्इ जनालाई रोजगारी उपलब्ध गराउने र घरपरिवार बिहिन सुकुम्वासी, विपन्न र पछाडी परेका समुदायका परिवारलाई पाँच वर्ष भित्रमा जग्गाको लालपुजा सहित घर उपलब्ध गराउने प्रतिबद्धता जनाए।

ग्रामिण सडकहरुको स्तरोन्नती गरी कालोपत्रे गर्ने योजनालाई उनले प्राथमिकतामा राखेका छन्। ‘काम गर्ने मान्छेलाई जनताले मत दिन्छन्। बेकारको प्रचारमा कोही पनि झुक्किँदैन’- उनले भने-‘अवसर पाउँदा मैले जनताकै काम गरेँ। फेरी त्यो ठाउँमा मेरो जीत निश्चित छ।’ अधिकारीले नेपाल उज्यालो कार्यक्रमद्धारा लोडसेडिङको अन्त्य, पहाडी भेगमा ब्यवस्थित खानेपानी, लामेआहालको प्रादेशिक बसपार्क निर्माण लगाएतका योजनालाई प्राथमिकताका साथ उठाएका छन्।

गाउँगाउँमा पर्यटक पुर्‍याउँछु

साविक पार्चे गाविस हालको मादी गाउँपालिकामा २०२३ साल बैशाख १ गते जन्मिएका मनबहादुर गुरुङ कास्की क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का वाम गठबन्धन तर्फको साझा उम्मेदवार हुन्। ग्रामीण परिवसमा जन्मे हुर्केका उनी साथीभाइको संगत र प्रशिक्षणले नै राजनीतिमा भित्रिए। टेष्ट पाससम्मको शैक्षिक योग्यता भएपनि उनीसँग विकासको भिजन कमी छैन। गुरुङको अनुभवले नै आफ्नो निर्वाचन क्षेत्र मज्जासँग हाँक्न सक्छन्। २०५४ सालमा पार्चे गाविसको अध्यक्ष भई काम गरेका उनी यस क्षेत्रमा लोकप्रिय पनि मानिन्छन्। अन्नपूर्ण संरक्षण क्षेत्रको अध्यक्ष भएका गुरुङ सिक्लेस पार्चे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको समेत अध्यक्ष भएर योजना पूरा गरे।

२०४३ सालबाट मालेको समथन गर्दै राजनैतिक गतिविधिमा होमिएका उनी २०४६ को जनआन्दोलनमा सक्रिय नेतृत्वकर्ताको भूमिकामा थिए। २०४८ को संसदिय निवार्चन र २०४९ को स्थानिय निर्वाचनमा नेकपा एमाले बाट उनले पार्टीकाई जिताउन योजनाकारकै रुपमा काम गरे। उनी २०५१ सालमा मात्रै नेकपा एमालेको संगठित सदस्य बनेका थिए। पार्चे गाविसको अध्यक्ष निर्वाचित हुँदा उनी एमालेको पूर्णकालिन कार्यकर्ता भैसकेका थिए भने पार्टीको जिम्मेवार सदस्य पनि थिए।

त्यसपछि उनी एमालेको कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीको सदस्य भएर दुर्इ कार्यकाल काम गरे। दुवै कार्यकाल जिल्ला कमिटीको सदस्यमा पनि गुरुङ निर्वाचित भए। हाल उनी जिल्ला कमिटी उपाध्यक्षको भूमिकामा कार्यरत छन्। गुरुङले विकास र प्रकृति संरक्षणका क्षेत्रमा काम गर्दैगर्दा अमेरिका, दक्षिण कोरिया, जापान, हङकङ, चीन, भारत, थाईल्याण्ड, सिंगापुर, ताईवान लगाएतका देशमा भ्रमण र अुनभव संकलन गर्ने अवसर पाए। उनले प्रकृति संरक्षण र दीगो विकासमा काम गरेकै कारण अमेरिकाको न्यूयोर्कमा अन्तराष्ट्रिय इक्वाईडर पुरस्कारबाट सम्मानित हुने अवसर पाए। यसबाहेक विभिन्न सामाजिक संघसंस्थाबाट उनी सम्मानित भैसकेका छन्।

पर्यटकीय गाउँ सिक्लेसमा जन्मिएका गुरुङ अहिले उही क्षेत्रबाट सांसद बन्ने दाउमा छन्। सांसद भएपछि सबैभन्दा पहिले विजयपुर खोलामा पक्की पुल निर्माण गरेर बाह्रै महिना ग्रामिण सडकमा गाडी चल्ने बनाउनु पहिलो प्राथमिकता रहेको उनी बताउँछन्। उनले कोरला नाका संचालनमा पहल गर्ने र केरुङ, काठमाडौं हुँदै पोखरादेखि लम्बिनी रेलमार्ग संचालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘पोखरामा पर्यटक ल्याउन अन्तर्राष्ट्रिय विमानस्थल नबनाई भा छैन। एयरपोर्टले मात्रै भएन, पर्यटकीय गाउँ पुग्ने राम्रो बाटो छैन’-उनले भने-‘यो सबै पूर्वाधार ५ बर्षभित्र पूरा हुन्छ। लाखौं पर्यटकले कास्कीको भ्रमण गर्ने वातावरण बनाउँछु।’

नेपाललाई विद्युतिकरणबाट धनि बनाउन सकिने योजनाका साथ अगाडि वढेका गुरुङले यस क्षेत्रमा रहेका नदी तथा तालहरुको उचित सर्भे गरेर उत्पादन बढाउने कार्यक्रम अभियानकै रुपमा चलाउने बताए। उनले मादी करिडोर (सिसाघाट-सिक्लेस) लोकमार्ग निर्माण तीन वर्षमा सम्पन्न गर्ने, मिजुरेमा ३२ केभी सव स्टेशन प्रशारण लाईन स्थापना गर्ने, आर्थिक समृद्धिका लागि जल, जमिन, जडिबुटि, जंगल र जनशक्तिको अधिकतम उपयोग गरी स्वाधीन र समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने दावी गरे।

नेपालकै होचो हिमताल (कफुचे)को संरक्षण र दुधपोखरीलाई धार्मीक पर्यटकीय गन्तव्यका रुपमा विकास गराउन आफ्नो भूमिका महत्वपूर्ण रहने गुरुङ बताउँछन्। ‘मेरो निर्वाचन क्षेत्रमा सबैजसो गाउँहरु पर्यटकीय छन्। यहाँको सुन्दरतालाई उपयोग मात्रै गर्न सके जनता छिटै धनी हुन्छन्’-गुरुङ भन्छन्-‘यसका लागि सबैभन्दा पहिले पूर्वाधार चाहियो। म त्यो तयार गर्छु’ उनले मादी गाउँपालिकामा एक घर एक धारा अभियान दुर्इ बर्षभित्रै पूरा गर्ने कार्ययोजना बनाएका छन्।

- अादर्श समाज सम्वाददाता