सडकमै महोत्सव गर्न सरोकारवालाको जोड

पोखरा, ९ मंसिर। रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान), पोखराले १९ औं पोखरा सडक महोत्सव तयारीका लागि सरोकारवालासँग अन्तक्रिर्यात्मक छलफल चलाएको छ।

पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाका पदाधिकारी, लेकसाइडका स्थानीय समूह तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग भएको छलफलमा सहभागीले यसपटकको पोखरा सडक महोत्सव पेटीमा नभई सडकमै गर्नुपर्नेमा जोड दिए। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सडक महोत्सवको नारा र विशेषता नै सडकमै खाने सडकमै नाच्ने र सडकमै रमाउने भएकाले यसलाई पेटीमा सीमित गर्न नहुने औल्याए। महोत्सवले पाँच दिनसम्म सडक अबरुद्ध गरेको भन्दै विभिन्न ठाउँबाट विरोध आएकोप्रति लक्षित गर्दै उनले सडकमै हुने अन्य अन्तर्राष्ट्रिय महोत्सवको उदाहरण प्रस्तुत गरे। विदेशीले सडकमै गर्दा जताततैबाट समर्थन आउने यहाँ किन बिरोध – उनले प्रश्न गरे।

पालिखेले यसपटकको सडक महोत्सव सफल पार्न संस्थागत सहयोग गर्ने प्रतिवद्धजा जाहेर गरे।

पोखरा ६ का वडा अध्यक्ष जगत पहारीले महोत्सव सडकमै व्यवस्थित तरिकाले गरिनुपर्नेमा जोड दिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले नयाँ वर्षको स्वागतका लागि आतिसबाजी समेत गर्नुपर्नेमा जोड दिए।

रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराईले महोत्सवको राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा प्रचारप्रसार गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने औल्याए। वक्ताले आवश्यक सुरक्षा, पार्कि· लगायत उचित व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए।

रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईले सहजीकरण गरेको कार्यक्रममा सल्लाहकार सूर्य भुजेल, बलराम पहारी, उपाध्यक्ष भीमसेन भुजेल, नेपाल पर्यटन बोर्डका प्रतिनिधि लगायतले महोत्सवबारेमा बोलेका थिए। अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा महोत्सव आयोजना गर्दैछ।

- एजेन्सी