गोल्डेन सहकारीको नवौं वाषिर्कोत्सवमा रक्तदान

पोखरा, ९ मंसिर। पोखरा ८, सृजनाचोकमा रहेको गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि. ले नवौं वाषिर्कोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ।

प्रमुख अतिथि सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनका गणपति प्रहरी उपरीक्षक भीमबहादुर थापाले पहिलो रक्तदाता संस्थाका सचिव कृष्णप्रसाद पोख्रेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे। कार्यक्रममा नौ महिलासहित ६५ जनाले रक्तदान गरेको प्रबन्धक दीपक पन्तले बताए।

प्रमुख अतिथि थापाले व्यावसायिक संघसंस्थाले पनि यसरी सामाजिक उत्तरदायित्व बहन गर्नु खुशीको कुरा भएको बताए।

संस्थाका सल्लाहकार महेन्द्र रिमाल, गुणाखर सापकोटा लगायतले रक्तदानको महत्व दिनप्रतिदिन बढ्दै गएको र जनचेतना  वृद्धि भइ स्वतस्फूत रूपमा रक्तदान गर्नेको संख्या बढ्दैगएको बताए।

संस्थाले यस वर्ष स्याङ्जाको राम्दीस्थित वृद्धाश्रमलाई खाद्यान्न र लत्ताकपडा वितरण गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले बताए।

संस्थामा ९ सय ५५ सेयर सदस्य छन्। संस्थाको सेयर पुँजी ५ करोड ३० लाख, ऋण लगानी २० करोड ५० लाख र बचत करिब १८ करोड हुनुका साथै कास्की जिल्ला भरी कार्यक्षेत्र रहेको प्रबन्धक पन्तले बताए।

सहकारीको भावनाअनुरुप नाफामुखी नभई सेवामुखी भई सञ्चालन भएको उक्त सहकारीले सेयर सदस्यको आर्थिक उन्नतिमा महत्वपूर्ण सहयोग पुर्‍याएको सचिव कृष्ण पोख्रेलले बताए। संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बालकृष्ण बराल र सञ्चालन शिक्षा समिति संयोजक राजेशकुमार घिमिरेले गरेका थिए। सोे अवसरमा रक्तदातालाई प्रमुख अतिथि तथा अतिथिले प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की रक्त सञ्चारका प्रमुख धु्रवमणि लामिछाने लगायतको समूहले प्राविधिक सहयोग गरेका थिए।

- अादर्श समाज सम्वाददाता