प्रतिनिधि-प्रदेशसभा निर्वाचन आज

३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्र

७ सय २ जना उम्मेदवार प्रतिष्पर्धामा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता

काठमाडौं, ९ मंसिर। निर्वाचन आयोगले पहिलो चरणमा आइतबार बिहान ७ बजेदेखि अपराहृन ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बिहान ७ बजे आ-आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित भई मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह गरे। संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हुँदैछ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७ सय २ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता छन्। आइतबार सम्पन्न हुने निर्वाचनमा दुर्इ हजार ९ सय १९ मतदान स्थलमा चार हजार ४ सय ६५ मतदान केन्द्रमा मतदान हुँदैछ। मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ।

सो क्रममा आयोगले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा विसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ।

आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्नुहुने मतदाताले मात्रै मतदान गर्न पाउने हुँदा सबै मतदातालाई मतदानमा सरिक भई आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आयोगले अनुरोध गरेको हो।

संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलोका रूपमा स्थानीय तहको निर्वाचन यसअघि नै सफलताका साथ सम्पन्न भइसकेको व्यहोरा छ। कुनै पनि मतदाताले नाम ढाँटेर अर्काका नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानूनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारभएकालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्‍याउन अपिल गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा यादवले अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढंगले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन भइसकेको जानकारी दिए।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मतसंकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गर्नसक्ने व्यवस्थासमेत मिलाइएको आयोगले जनाएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङको मसीले छापिएको मतपत्रमा रहेका चिहृनमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिहृनमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाइ तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ। समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र १ मा तथा  प्रदेशसभाका लागि मतपत्र २ भएका चिहृनमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्नेछ। निर्वाचनको संवेदनशीलतालाई मनन गरेर निर्वाचन आयोग, सुरक्षा निकाय, मतदान कार्यमा खटिएका कर्मचारीबाट पुष्टि भएका सूचना मात्रै सम्पे्रषण आयोगले सम्पूर्ण सञ्चारमाध्यमसँग आग्रह गरेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको यो निर्वाचनबाट संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयन हुने र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ भई राज्यको पुनःसंरचना हुन गई विद्यमान संक्रमणकालको अन्त्य हुनेछ निर्वाचनपछि मुलुकमा दिगो आर्थिक विकास हुने र देश समृद्धितर्फ लम्कने विश्वास गरिएको आयोगले जनाएको छ।रासस

यस्तो छ सुरक्षा

पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर मतदान गर्न सबैमा आग्रह गरे। उनले भने-‘निर्वाचनमा मजबुत सुरक्षा व्यवस्था प्रदान गरी शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मन्त्रालय र सुरक्षा निकाय सजग र संवेदनशील रहँदै आएको छ।’

उनले निर्वाचनपूर्वको सुरक्षा तयारी पूरा गर्दै अब निर्वाचनको दिनको सुरक्षा व्यवस्थामा मन्त्रालय लागेको जानकारी दिए।

निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव सापकोटाले जानकारी दिए। यस्तै निर्वाचन हुने जिल्लाका छ स्थानमा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ। घटना र दुर्घटना भएमा प्रतिकार जनाउने तथा निरोधात्मक सुरक्षा सतर्कता र सावधानीका लागि स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको सचिव सापकोटाले जानकारी दिए। निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ। जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ। राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिनेछ। निर्वाचन विरोधी छिटफुट घटना घटाइए पनि ती कार्य सुरक्षा निकायको पूर्ण नियन्त्रणमा रहेको गृहले जनाएको छ। सो क्रममा अवैध हातहतियार र विष्फोटक पदार्थ बरामद गरिनुका साथै घटनामा संलग्न ४ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही भइरहेको गृहले जनाएको छ। निर्वाचन हुने जिल्लामा सो दिन सार्वजनिक निजी सवारीसाधन चलाउन नपाए पनि अत्यावश्यक सेवाका सवारी, पास भएका सवारी मात्र चलाउन पाइने गृहमन्त्रालयले जनाएको छ।

- अादर्श समाज सम्वाददाता