मस्जीद हमलामा ३ सय ५ को मृत्यु

कायरो, ९ मंसिर। इजिप्टको एउटा मस्जीदमा भएको बम हमलामा परी मृत्यु हुनेको संख्या ३ सय ५ पुगेको छ।

मृत्यु भएका मध्ये २७ जना बालबालिका रहेको र अरु १ सय २८ जना घाइते भएको सरकारी संचार माध्यमहरूले शनिबार जनाएका छन्। घटनामा परी घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको समाचारमा जनाइएको छ। घाइतेहरू मध्ये केहीको अवस्था अझै पनि जटिल रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने चिकित्सकहरूले अनुमान गरेका छन्।

आतङकबादीहरूले इजिप्टको उत्तरी क्षेत्रमा पर्ने सिनाईमा रहेको एउटा मस्जीदमा शुक्रबार बम र गोली प्रहार गरेका थिए।

हरेक शुक्रबार साप्ताहिक प्रार्थनाका लागि मुस्लीम धर्माबलम्वीहरू ठूलो संख्यामा मस्जीदमा भेला हुने गर्दछन्।

आक्रमणकारी आइएस लडाकूहरूले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेर हिंसात्मक हमला गरेका हुन्। हमलापछि सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ भने नागरिकहरू त्रसीत अवस्थामा रहेको समाचारमा जनाइएको छ।

यसैबीच, नेपाल सरकारले इजिप्टको सुफी मस्जिदमा शुक्रबार भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी आततायी घटनामा सयौँ निर्दाेष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्दै शोकको घडीमा त्यहाँको सरकार र शोकाकूल परिवारमा समवेदना प्रकट गरिएको छ। नेपालले लामो समयदेखि लिँदै आएको अहिंसात्मक नीतिको स्मरण गर्दै सबै प्रकारका हिंसा र आतंकवादको विरोधमा निरन्तर उभिने मन्त्रालयले स्पष्ट पारेको छ।

- रासस