परिचय सहकारीको साधारणसभा

पोखरा, ९ मंसिर। परिचय बचत तथा ऋण सहकारी संस्था लि.को पाँचौ साधारणसभा सम्पन्न भएको छ।

प्रमुख अतिथि कास्की जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले साधारणसभा उद्घाटन गर्दै राज्यले सहकारीलाई महत्व दिनुपर्नेमा जोड दिए। उनले देशको वित्तीय क्षेत्रमा सहकारीको ठूलो योगदान रहेको चर्चा गरे। ‘सहकारीले सामाजिक क्षत्र र आर्थिक क्षेत्रमा परिवर्तन ल्याएको छ’-उनले भने-‘रोजगारीको क्षेत्रमा सहकारीले देखिनेगरी आर्थिक रुपान्तरण गरेको छ।’

अग्रज पत्रकार नारायण कार्कीले देशमा सहकारी आन्दोलन सशक्त बनेको चर्चा गरे। कार्कीले सहकारी आन्दोलनमा राज्यको नीतिगत सुधारको खाँचो रहेको औल्याए। सहकारी आन्दोलनमा महिलाको सहभागितामा जोड दिए। उनले हालसम्म नेपालको सहकारीमा महिलाहरुको सहभागिता ४० प्रतिशतमात्र रहेको उल्लेख गरे।

पत्रकार यदुनाथ बञ्जाराले सहकारी संस्थामा सूचना अधिकार प्रत्याभूत गरिनुपर्नेमा जोड दिए। उनले भने-‘संस्थामा जति सूचनाको प्रत्याभूत हुन्छ, त्यति नै ती संस्था पारदर्शी बन्छन्।’

साधारणसभामा पत्रकारितामार्फत आमउपभोक्ता, व्यवसायी र सेयर सदस्यमा सहकारी आन्दोलनका सूचना सम्प्रेषण गरेको भन्दै पत्रकार यदुनाथ बञ्जरालाई संस्थाले सम्मान गरेको थियो।

संस्थाले उत्कृष्ट बचतकर्ता मातृकाप्रसाद पोख्रेल, उत्कृष्ट नारी बचतकर्ता मञ्जु यादव, उत्कृष्ट शैक्षिक बचतकर्ता समृद्धि बानियाँ, असल कारोबारी हेमराज पराजुली, असल नारी कारोबारी लक्ष्मी गुरुङ, उत्कृष्ट लखपति बचतकर्ता सन्दीपकुमार अग्रहरी, उत्कृष्ठ आवधिक बचतकर्ता, सुग्रिम गुप्ता, परिचय बोनस बचतकर्ता विजय यादव, विशेष बाल बचतकर्ता अल्सिफा शाहीलाई सम्मान गर्‍यो।

संस्थाका कर्मचारी शिखर थापा र लेखापाल पार्वती गुरुङलाई असल कर्मचारी र सरोज ढुंगानालाई अनुशासित कर्मचारीका रुपमा संस्थाले सम्मान गरेको छ।

संस्थाका अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बलराम बरालले स्वागत, कास्की बचत तथा ऋण सहकारी संघका सचिव दीपकप्रकाश आचार्यले सहकारीको सात सिद्धान्तवाचन र वीनिता नेपालीले सञ्चालन गरेकी थिइन्।

न्यूरोडमा मुख्य कार्यालय रहेको संस्थाले एक करोड ३० लाख चार हजार सेयर पुँजी र ११ करोड ६९ लाख ५३ हजार सात सय २६ रुपैयाँ निक्षेप संकलन गरेको छ । संस्थामा ६ सय ८६ जना सेयर सदस्य छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष दीपक तिमिल्सिनाले आर्थिक वर्ष २०७३/०७४ को वाषिर्क प्रतिवेदन, सचिव मोहनबहादुर पुनले ०७३/०७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

- अादर्श समाज सम्वाददाता