छात्रछात्रा बास्केटबल शुरू

पोखरा, ४ मंसिर। १५ औं संस्करणको अन्तरविद्यालयस्तरीय कर्णेल जेपी क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता शुरु भएको छ। पोखरा रंगशालामा सोमबार समाजसेवी कर्णेल जेपी क्रसले प्रतियोगिता उद्घाटन गरे ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १५ टिमको सहभागिता छ।

प्रतियोगितामा सोमबार छात्रतर्फको आठ खेल भए। उद्घाटनमा माउण्ट अन्नपूर्णले अल्फामाथि ३१-१९ को फराकिलो गोलअन्तरले हरायो। अन्य खेलमा कुमुदिनी होम्स, टप्स ए, लिटिल स्टेप्स, कास्की मोर्डनाइज्ड, प्यारामाउण्ट, सोसल पब्लिक र बालकल्याणको टिम विजयी बनेको छ।

छात्रतर्फको खेलमा कुमुदिनी होम्सले ग्लोबल कलेजियटलाई ३३-२०, टप्स ए ले एलए सेकेण्डरीलाई ४३-९, लिटिल स्टेप्सले टप्स बीलाई ३१-१५, कास्की मोर्डनाइज्डले नेपाल आदर्शलाई २८-६, प्यारामाउण्टले रेम्बोलाई ३१-३०, सोसल पब्लिकले पोखरा युनाइटेडमाथि ४२-५ र बालकल्याणले न्यु ग्यालेक्सीलाई ३८-१६ स्कोरले हरायो।

लिग कम नक आउटका आधारमा सञ्चालित प्रतियोगिताअन्तर्गत मंगलबार पोखरा रंशालाको कोर्टमा छात्रतर्फको र रामघाटस्थित पुन समाजघरको बास्केटबल कोर्टमा छात्रातर्फको पहिलो चरणका १०/१० खेल हुने आयोजकले जनाएको छ।

छात्रछात्रा दुवैतर्फका विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीयले ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगिताको हाइस्कोरर र वेष्ट प्लेयरका लागि आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ।

१४ औं संस्करणको प्रतियोगितामा छात्रतर्फ बालकल्याण स्कूल विजेता तथा माउण्ट अन्नपूर्ण उपविजेता बनेको थियो।

छात्रातर्फ टप्स स्कुल विजेता तथा माउण्ट अन्नपूर्ण उपविजेता बनेको थियो।

- अादर्श समाज सम्वाददाता