सिसी क्यामेरा जडानमा यातायात व्यवसायीले सघाउने

पोखरा, ४ मंसिर। सुरक्षित पोखराको लागि सहरका मुख्य केन्द्रहरूमा सिसी क्यामेरा जडान गर्ने अभियानलाई पोखराका यातायात व्यवसायीहरूले सघाउने भएका छन्।

अभियानलाई गति दिनको लागि पोखरा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा उपस्थित यातायात व्यवसायसँग सम्बन्धित संघ/संस्थाका प्रतिनिधीहरूले सिसी क्यामेरा जडान अभियान पोखराको पूर्वाधार र सुरक्षासँग जोडिएकोले आफूहरूले सघाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै गण्डकी धौलागिरी सार्वजनिक यातायात व्यवसाय समन्वय समितिका संस्थापक अध्यक्ष हरिप्रसाद खनालले सुरक्षा यातायात व्यवसायीहरूको पहिलो चासो भएकोले यो अभियानलाई सघाउने प्रतिवद्धता व्यक्त गरे।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा यातायात व्यवसायी बाबुराम गिरिले पोखरा भित्रने नाकाहरूको सुरक्षामा विशेष व्यवस्था हुनुपर्नेमा जोड दिए। जडानसँगै यसको दीगो संचालनको बारे निश्चित योजना हुनुपर्नेमा उनको जोड थियो।

गण्डकी धौलागिरी यातायातका पूर्व अध्यक्ष बसन्त प्रधानले पोखराको पूर्वाधार निर्माणमा यातायात व्यवसायीहरूले सक्दो योगदान गरेको उल्लेख गर्दै यो अभियान अपवाद नहुने बताए। यसैगरी समितिका वर्तमान अध्यक्ष पदमबहादुर केसीले असल कामको लागि आफूहरू सदैव तयार रहेको बताए।

गण्डकी अंचल यातायात व्यवसायी समितिका अध्यक्ष सिँहबहादुर कार्की र सचिव भानुभक्त ढकालले यो परियोजना संचालनसँगै सुरक्षा चाहने अन्य क्षेत्रमा पनि सिसी क्यामेरा जडान गर्नुपर्ने बताए। गण्डकी क्रसर उद्योग व्यवसायी संघकधा सुरेन्द्र त्रिपाठीले सुरक्षा सबैको चासो भएको उल्लेख गर्दै यो कार्य छिटो थाल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सुरक्षित पोखरा किन भन्ने विषयमा अवधारणा पत्र प्रस्तुत गर्दै यसको संचालन विधी, लागत, क्षेत्र तथा अपरिहार्यताबारे जानकारी दिएका थिए।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले सुरक्षित सहरको लागि आधुनिक सुरक्षा प्रणाली अपरिहार्य भएकोले यो अभियानमा साथ दिन सबैसँग आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिँहले काठमाडौंपछिको दोस्रो गन्तव्य पोखरालाई सुरक्षित बनाउन यो अवधारणा ल्याइएको प्रष्ट पारे।

- एजेन्सी