अस्ताए प्रचण्ड पुत्र प्रकाश

काठमाडौ ३ मंसिर। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आइतवार बिहान निधन भएको छ। सामान्य रुघा खोकीपछि तीन दिनयता काठमाडौको लाजिम्पाटस्थित घरमै स्वास्थ्यलाभ गरिरहेका प्रकाशको आइतबार विहान हृदयघातबाट निधन भएको हो। दाहालको आइतवार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। छोरा प्रकाशलाई प्रचण्डले दागबत्ति दिएका थिए।

प्रकाशका दुर्इ श्रीमतीतर्फ दुर्इ छोरा छन्। दागबत्ति दिनुअघि आर्यघाटमा विभिन्न नेता तथा विशिष्ट अधिकारीले प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रकाशको पार्थिव शरिरलाई दिउँसो साढे एकदेखि साढे तीन बजेसम्म श्रद्धान्जलीका लागि पार्टीकार्यालय पेरिसडाँडामा राखिएको थियो। पार्टीकार्यालयमा अध्यक्ष तथा पिता प्रचण्डले भावुक हुँदै प्रकाशको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए। त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धान्जली अर्पण गरेका थिए। नर्भिक अस्पतालले पूर्व प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाशलाई मृत अवस्थामा अस्पताल पुर्‍याइएको जनाएको छ। दिउँसो पत्रकार सम्मेलन गर्दै अस्पताल ल्याउनुभन्दा ३ घन्टाअघि नै उनको मृत्यु भइसकेको जनाएको हो। प्रकाशलाई आइतबार बिहान ५ बजेर ५० मिनेटमा अर्भिक अस्पताल पुर्‍याइएको थियो। ‘यहाँ ल्याइपु‍र्‍याउँदा शरीर चिसो र कडा भइसकेको थियो। कम्तिमा पनि ३ घन्टा अगाडि मृत्यु भइसकेको थियो’-नर्भिक अस्पतालका हृदयरोग विशेषज्ञ डाक्टर जेपी जैसवालले भने-‘अवस्था हेर्दा आकस्मिक हृदयघात भएको देखिन्छ।’ डाक्टर जैसवालका अनुसार प्रकाशलाई दुर्इ जना सुरक्षा गार्डले अस्पताल ल्याएका थिए। बिहान ६ बजे अस्पतालले प्रकाशलाई मृत ठहर गरे पनि दिउँसो मात्र पत्रकार सम्मेलन गरेर अस्पतालले जानकारी गराएको थियो।

चुनावी गतिविधिमै व्यस्त रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश पछिल्ला दुर्इ-तीन दिनदेखि घरमै बसिरहेका थिए। घरका अरु सदस्य चाहिँ चुनावी प्रचारप्रसारमै व्यस्त थिए। प्रकाश आमा सीता दाहालसँग घरमै बसिरहेका थिए। सामान्य रुघाखोकी लागेपछि उनी चुनावी गतिविधि छोडेर घरमा आराम गरिरहेका थिए। उनले घरमै बसेर प्रचण्डको सचिवालयलाई व्यवस्थापन गरिरहेका थिए। पारिवारिक स्रोतका अनुसार प्रकाशलाई सामान्य रुघा-खोकी लागेको थियो। उनले शनिवार राति सुत्ने बेलामा आफूलाई हल्का पेट दुखेको भनेर आमालाई भनेका थिए। छोराले पेट दुखेको भनेपछि आमाले उनलाई जाउलो पकाएर खुवाएकी थिइन्। प्रकाशलाई राति हृदयघात भयो। ढिलागरी अस्पताल पुर्‍याउँदासम्म दाहाल संसारबाट विदा भइसकेका थिए।

प्रकाशले शनिवार राति झापाको विर्तामोडमा रहेका आफ्ना बाबु प्रचण्डसँग १५ मिनेट लामो कुराकानी पनि गरेका थिए। उनले चुनावी गतिविधिमै केन्द्रित रहेका बाबुसँग आफूलाई हल्का बिसञ्चो भएको बताएका थिए। कुराकानीको क्रममा प्रचण्डले प्रकाशलाई सामान्य रुघाखोकी नै भए पनि अस्पताल जानुपर्ने भनेर सुझाएका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधनको खवरपछि आइतवार बिहानै काठमाडौको थापाथलीस्थित नर्भिक अस्पताल खचाखच भएको थियो। प्रकाश विरामी भएको र उपचारका लागि नर्भिक ल्याएको समाचारपछि समर्थक, शुभेच्छुक, आफन्त लगायतका सर्वसाधारण अस्पताल परिसरमा पुगेका थिए। विभिन्न दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणको उपस्थितिका कारण बिहानैबाट अस्पताल परिसरमा सुरक्षाकर्मीलाई सुरक्षा प्रदान गर्न हम्मेहम्मे परेको देखिन्थ्यो।

- अादर्श समाज सम्वाददाता