गृह जिल्ला शोकमा

चितवन, ३ मंसिर। नेकपा (माओवादी ) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको निधनपछि उनको गृहजिल्ला चितवन शोकमा डुवेको छ। पछिल्ला दिनहरूमा चुनावी कार्यक्रममा जिल्लामा धेरै सक्रिय भएका प्रकाश छोटो समयमा नै जिल्लामा धेरैसँग घुलमिल हुन पुगेका थिए।

प्रकाश २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ भीमसेन नगरमा जन्मिएका हुन्। उनको बाल्यकाल चितवनमा नै बितेको थियो। प्रकाश अध्यक्ष पुष्पकमलका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए। द्वन्द्वकालमा भूमिगत रहेर बाबुसँगै उनले राजनीति गरेका थिए। प्रायः बाबुको अघिपछि देखिने उनी पुष्पकमलको आन्तरिक व्यवस्थापन गर्ने काममा निकै सक्रिय हुन्थे। दाहालको लवाई, खुवाई, बसाई, कार्यक्रम सेडुलदेखि सुरक्षाका विषयमा पनि उनले निकै ख्याल राख्ने गरेका थिए।

पुष्पकमल चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार भएपछि जिल्लामा निकै सक्रिय उनी प्रत्येक कार्यक्रममा बाबुसँगै पुग्ने गरेका थिए। यात्राका क्रममा पनि उनी बाबुको गाडीको अघिल्लो सिटमा बसेर यात्रा गर्ने गर्दथे। जहाँ सुरक्षाकर्मी बस्नुपर्ने थियो, त्यहाँ प्रकाश देखिन्थे। यसबाट पनि उनले बाबुको सुरक्षादेखि भित्री व्यवस्थापनसम्म कति ख्याल गर्दछन् भन्ने प्रष्ट हुन्छ।

प्रकाशको मृत्युको खबरपछि जिल्ला पूरै शोकमा डुवेको छ। निर्वाचनको समयमा अघिल्ला दिनहरूमा देखिने चहल पहल आइतबार कतै पनि देखिएन। चर्को स्पीकर र झण्डा हल्लाउँदै हिड्नै दर्जनौं गाडी आइतबार चितवनका सडकमा देख्न सकिएन।

पुष्पकमलसँग चितवन क्षेत्र नं. ३ मा चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा -लोकतान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भूसंरक्षण मन्त्री बिक्रम पाण्डेले आफू अत्यन्त दुःखी भएको बताउँदै उनले यसबारेमा थप बोल्ने शक्ति आफूसँग नरहेको प्रतिक्रिया दिए। घटना सुने लगत्तै प्रचारप्रसारका सबै कार्यक्रम स्थगित गरेर आफू प्रकाशको अन्त्यष्टिमा आर्यघाट आएको उनले बताए।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले चितवनमा जन्मिएर गणतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका युवाको निधनले समग्र जिल्ला शोकमा रहेको बताउँदै उनी प्रचण्ड पुत्र मात्र नभएर आन्दोलनमा सक्रिय भूमिका निभाएका एक होनाहार योद्धा पनि भएको बताए।

नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले समग्र पार्टींक्तिसँगै जिल्ला शोकमा रहेको भन्दै यसलाई शक्तिमा बदलेर अघि बढ्नु पर्ने बताए। राजनीतिक परिवर्तनमा प्रकाशको भूमिका उल्लेखनीय रहेको भन्दै उनले यसले वामपन्थी आन्दोलनमा क्षति पुगेको बताए। माओवादी केन्द्रका जिल्ला इञ्चार्ज इश्वरी भट्टराईले प्रकाश पुष्पकमल दाहालका छोरा मात्रै नभए पार्टीअध्यक्षका स्वकीय सचिव, केन्द्रीय सदस्य र एकजना जिम्मेवार नेता भएको बताए । उनको निधनले सिंगो पार्टीशोकमा रहेको भन्दै चितवनले एउटा होरानाहार युवा गुमाउनु परेको बताए।

उनको निधनपछि उनका आफन्त, इष्टमित्र र शुभेच्छुकहरू सबै काठमाडौं गएका थिए। काठमाडौंका आर्यघाटमा रहेका उनका फुपाजु ऋषिराम पौडेल दुखित हुँदै बाल्यकालदेखि नै शोझो र लजालु स्वभावका प्रकाशको निधनले परिवारजन पूरा गर्नै नसकिने क्षति पुगेको बताए। प्रकाशले प्राथमिक शिक्षा चितवनमा नै लिएका थिए।

- अादर्श समाज सम्वाददाता