महायज्ञ सफल पार्न घरदैलो

हेमजा, ३ मंसिर। पोखरा-२५, हेमजा, र्सुइखेत स्थित अम्विका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापनार्थ गर्न लागिएको श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी पूरा भएको छ।

महायज्ञ मंगलबार देखि मंसिर १२ गतेसम्म विद्यालय प्राङगणमा चल्दैछ। मंगलवार घट्टेखोलादेखि सवेश्वर शिववस्ती टोलसम्मका महानुभाव बिहान साढे ९ बजे विद्यालयमा जम्मा हुने, सुन्दरपुरी चोकदेखि याम्दीसम्मका महानुभावहरू सवा दश बजे मिलनचोकमा जम्मा हुने र ठीक ११ बजे मिलनचोकबाट कलश यात्रा सुरु गरी विद्यालय परिसर पुग्ने र उदघाटन समारोहमा सहभागि हुने कार्यक्रम शोभायात्रा उपसमितिले तय गरेको छ।

महायज्ञ सफल बनाउन हेमजा क्षेत्रमा घरदैलो गरिएको छ भने जिल्लाभरि नै विभिन्न सहयोग समिति निर्माण गरिएको छ। त्यस्तै महायज्ञ स्थल विद्यालयको प्राङगणको सजावट पनि सकिएको छ।

जसअन्तगत पण्डितको आवास व्यवस्थापन, मण्डव व्यवस्थापन, हेमजास्थित राजमार्ग क्षेत्रमा पाँच वटा गेट निर्माण गरिएको छ। छिमेकी अन्नपूर्ण तथा माछापुच्छे्र गाउँपालिकाका  र पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटै वडामा सर्म्पर्क समिति निर्माण भइसकेको छ। महायज्ञबाट जमिन व्यवस्थापन गरी पुवाधार खडा गर्ने तथा सीपमुलक प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य लिइएको उपमहासचिव मित्रलाल पौडेलले बताए। यज्ञबाट करिव तीन करोड आर्थिक संकलन गर्ने लक्ष्य छ। सो अवसरमा तुलादान, ग्रहशान्ति, ब्रतबन्ध, रुद्रीपूजा, काल सर्पयोग, विवाह लगायतका कार्य गरिने जनाएको छ।

- अादर्श समाज सम्वाददाता