भलामबासीलाई थापाको आश्वासन खोला तर्न पुल, खेती गर्न सिँचाई

पोखरा, ३ मंसिर। कास्की क्षेत्र नं २ प्रदेश सभा सदस्य ‘ख’का उम्मेदवार विन्दुकुमार थापाले भलामको खेती योग्य जमिनमा सिचाइ सुविधाको लागि तत्काल पहलकदमी गर्ने बताएका छन्। तरकारी उत्पादनको लागि उर्वर भूमिका रूपमा रहेको भलामलाई आलुको पकेट क्षेत्र बनाउने उनले बताए।

आफ्नो चुनाव अभियानको क्रममा घरदैलो गर्न पोखरा २० भलाम पुगेका थापाले भलाम खोलाको पानीलाई पाइपमार्फत् खेतबारीमा पुर्‍याउने अठोट लिए। ‘कृषिबाटै समृद्धिको अभियान थाल्ने छौं’-उनले भने-‘त्यसका लागि भलाम खोलामा ड्याम लगाई पाइपमार्फत पानी खेतबारीमा पुर्‍याईने छ।’  खोलाबाट १२ सय मिटर लम्बाई पाइपको व्यवस्था गरी कृषि उत्पादन बढाउन सिचाई सुविधा पुर्‍याइने उनको भनाइ थियो।

आलु उत्पादन गर्दै बजारीकरण गरी किसानको जीवनस्तर उकास्नुपर्नेमा जोड दिए। बस्तीमा खानेपानीको अभाव पूर्र्ति गर्न पानीको स्टोरेज ट्यांकी निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। ‘भए तत्काल नभए सहयोग जुर्टाई खानेपानी समस्या समाधान गर्ने छु-उनले घरदैलोको क्रममा स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्दै भने-‘खानेपानीबाट सबैको पहुँच पुग्नुपर्छ । त्यसको लागि म कटिबद्ध र प्रतिबद्ध रहने छु।’ उनले भलामकै ठकुरीबस्तीमा पुग्न आवातजावातको सहजताको लागि भलाम खोलामा आवश्यक पुल निर्माण गर्न विशेष पहल गर्ने जिकिर गरे।

उनले भलामकै हरिहर गुफासम्म घरदैलो गर्दै गुफालाई संरक्षण गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने बताए। ऐतिहासिक गुफालाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउन तर्फ आवश्यक गुरुयोजना बनाउने थापाले सुनाए। ‘गुफालाई धार्मिक पर्यटनको गन्तव्य बनाउन गुरुयोजना बनाउन आवश्यक छ’-उनले भने।

- अादर्श समाज सम्वाददाता