‘गिर्दाबाट बेचिन पुगेका राजपरिवार’ विमोचन

पोखरा, २ मंसिर। संस्कृतीकर्मी तथा नाटककार खगराज शर्मा आचार्यको पूर्णाङ्की नाटक ‘गिर्दाबाट बेचिन पुगेका राजपरिवार’को शनिवार बिमोचन गरिएको छ।

नवनित साहित्य सागरको आयोजनामा शनिवार नाटकको विमोचन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि कवि तथा संस्कृतिकर्मी प्राज्ञ तिर्थ श्रेष्ठले कृतिको विमोचन गरेका हुन्।

कृतिको विमोचन गर्दै श्रेष्ठले जनजीवनमा प्रचलित हरिश्चन्द्र र तारामतीको कथालाई नयाँशैलीमा प्रस्तुत गर्नु चुनौतीपूर्ण कार्य भएको उल्लेख गरे। जीवनको उत्तरार्द्धमा पौराणिक कथालाई श्रष्टाले चुनौतीपूर्ण रुपमा नाटकको सिर्जना गरेको बताए।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले नाटकमार्फत समाजलाई कर्तव्यप्रति विचलित नहुन सन्देश दिन खोजिएको उल्लेख गरे।

नाटक लेखनको खडेरी परेको समयमा ‘गिर्दाबाट बेचिन पुगेका राजपरिवार’ नाटक आउनुले पोखरेली साहित्यमा उपलब्धीप्राप्त भएको बास्तोलाको कथन थियो।

साहित्यिक संघ संस्थाबाट भुपनिधि पन्त, राष्ट्रिय धर्मसभा जिल्ला समिति कास्कीका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद चापागाई, गुप्तेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता बराललगायतले बोलेका थिए।

कार्यक्रममा प्रा डा रामचन्द्र पोख्रेलले कृतिको बारेमा समिक्षा गर्दै पूर्णाङ्की नाटक लेखनको हिसाबले अत्यन्तै उत्कृष्ठ रहेको बताए। उनले साहित्य जीवनको एक भावनात्मक र  सिर्जनात्मक कृति रहेको चर्चा गर्दै पोख्रेलले जीवनमा जे देखिन्छ अथवा जे भोगिन्छ, त्यसलाई कृतिमा उतारिने उल्लेख गरे।

त्यसैगरी, कार्यक्रममा गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पौडेलले स्रष्टा खगराज आचार्यको व्यक्तित्वमाथि प्रकाश पारेका थिए।

स्रष्टा आचार्यले कृति प्रकाशनमा सहयोग गर्ने परिवारका सदस्य तथा छपाईमा सहयोग गर्ने सबै प्रति कृतज्ञता व्यक्त गर्दै आभार व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बद्रीनाथ पहारीले स्वागत र सचिव डिल्लीराम शर्माले कार्यक्रम संचालन गरेका थिए।

विजयराज आचार्य र गात्री आचार्य पराजुलीद्धारा प्रकाशित पूर्णङ्की नाटकभित्र ११ अंक ५३ दृश्यहरु छन्।

- अादर्श समाज सम्वाददाता