पोखरामा दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता

पोखरा, २ मंसिर। आगामी पुषको अन्तिम सातादेखि पोखरामा १२ औं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। सेभेन ए साईड फुटबल फेडरेसनको आयोजनामा पुष २९ देखि माघको ४ गतेसम्म पोखरामा उक्त प्रतियोगिता हुने भएको शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

नेपालमा दोश्रोपटक हुन लागेको उक्त प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तानबाट एक/एक टिमको सहभागिता रहने फेडेरेसनका अध्यक्ष एवम् मूल आयोजक समितिका संयोजक नविन पुनले बताए।

प्रतियोगिताका विजेताले दुर्इ लाख, उपविजेताले एक लाख नगद पुरस्कार पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिग कम नकाउटका आधारमा प्रतियोगिता हुने भएको हो।

प्रतियोगिता सम्पन्न गर्न १८ लाख ५० हजार खर्च लाग्ने र प्रतियोगिताबाट १९ लाख ५० हजार आम्दानी गर्ने लक्ष राखिएको महासचिव डिबी नेपालीले बताए।

कोषाध्यक्ष सुनिल जिसीको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ। पोखरालाई पर्यटनको शहरको रुपमा विकसित गर्न पनि यस्ता प्रतियोगिताले थप टेवा पुग्ने आयोजकको अपेक्षा छ।

- अादर्श समाज सम्वाददाता