अष्ट्रेलियाबाट आएर नर्सिङ विद्यार्थीलाई सहजीकरण

पोखरा, ३० कात्तिक । नर्स बनेर सेवा गर्ने उद्देश्यका साथ नर्सिङ अध्ययनरत छात्रा लाभान्वित भएका छन् । यो अवसर जुटाइदिएको हो-लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा डेस्ट्रिनेशनले ।

अष्ट्रेलियाको चर्चित केन्द्रिय क्विन्सल्याण्ड विश्वविद्यालयकी प्राध्यापक केरी रेड सेरेलले छात्राहरुलाई नर्सिङ शिक्षाबारे प्रशिक्षण दिइन् । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार दिउँसो भएको प्रशिक्षणमा पोखराका पद्म नर्सिङ होम, फिस्टेल, फेवासिटी र चरक हस्पिटलमा अध्ययनरत करिब पाँच सय नर्सिङका विद्यार्थी सहभागी थिए ।

सहजकर्ता केरीले अभिनय मार्फत नै नर्सले गर्नुपर्ने सेवा, बिरामीसँग कस्तो व्यवहार गर्ने – नेपाल र अष्ट्रेलियाबीच यो विषयको अध्ययनमा के फरक छ – लगायतका सर्न्दर्भमा श्रव्य दृश्य सहित सहजीकरण गरिन् । केरी आफ्नो टीम सहित यहाँ प्रशिक्षणका लागि आएकी हुन् । उनले कार्यक्रम अवधिभर हसाउँदै पेशाका बारेमा अनुभव आदानप्रदान गरिन् ।

प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी वान नेपालका डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यले पोखराका नर्सिङका छात्राहरुलाई यो ठूलो अवसर भएको बताए । उनले यो निकै संवेदनशील र सेवाका क्रममा आफ्नो वैयक्तिक जिवनलाई समेत तिलाञ्जली दिनुपर्ने पेशा भएकाले नर्सिङ क्षेत्र महत्वपूर्ण र कठिन रहेको बताए । उनले सेवाभावका साथ कार्यक्षेत्रमा कसरी प्रस्तुत हुने – बिरामी र उनका आफन्तसँगको व्यवहारबारे यो निकै सहयोगसिद्ध हुने बताए ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिव सूर्यप्रसाद बरालले गरेका थिए । कार्यक्रमको संयोजन सिनियर डिस्ट्रिक्ट एडभाईजर सोनाम साङ्पोले गरेका थिए भने धन्यवाद ज्ञापन लायन्स क्लब अफ पोखरा डेस्ट्रिनेशनकी अध्यक्ष जीता बरालले गरेकी थिइन् ।

सोही अवसरमा ४५ वर्षसम्म निरन्तर नर्सिर्ङ पेशामा सेवा गरेकी पद्म नर्सिङ होम नर्सिर्ङ स्कूलकी प्रिन्सिपल इन्दु थापालाई सम्मान समेत गरियो ।

- अादर्श समाज सम्वाददाता