सच्चाई सत्संग लामाचौरमा रक्तदान

पोखरा, २९ कात्तिक। सच्चाई सत्संग लामाचौरमा तेस्रोपटक रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

सत्संगद्वारा आयोजित उक्त कार्यक्रममा एक सय चार जनाले रक्तदान गरेका छन् ।

प्रमुख अतिथि पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले पहिलो रक्तदाता एवम् सच्चाई सत्संग लामाचौरकी अध्यक्ष ज्ञानु लामालाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम उद्घाटन गरेका हुन्।

पौडेलले सच्चाई केन्द्रको सामाजिक कार्यले स्थानीय सरकारलाई सहयोग पुग्ने बताए। देशले धर्म निरपेक्षतालाई अंगीकार गरेर गणतन्त्रात्मक व्यवस्थामा पुगेको बताउँदै पौडेलले सच्चाई सत्संगलाई दीनदुःखीको सेवामा निरन्तर लाग्न आग्रह गरे।

यसअघि, सच्चाई केन्द्रले सामाजिक कार्यअन्तर्गत बागलुङ बलेवास्थित जनताधन माविका २३ जना दृष्टिविहीन बालबालिकालाई झुल लगायत विद्यालय पोशाक वितरण गरेको थियो।

त्यसैगरी, चितवन भरतपुर महानगरपालिकास्थित सगरमाथा अनाथलयमा आश्रति नौ जना बालबालिकाका लागि ५० हजार रुपैयाँ र स्टेशनरी सामग्री सहयोग गरेको थियो।

त्यस्तै, पोखरा सीतापाइलास्थित वृद्धाश्रममा २३ हजार रुपैयाँ र खाद्यान्न सामग्री सहयोग गरेको थियो। माछापुच्छ्रे गाउँपालिका रिभानका बाढीपीडित १३ घरपरिवारलाई समान १०/१० हजार रुपैयाँ सहयोग गरेको थियो।

सच्चाई सत्संगका व्यवस्थापक सञ्जय लामाको व्यवस्थापनमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोग थियो।

- अादर्श समाज सम्वाददाता