पोखरामा मधुमेह दिवस मनाइयो

पोखरा, २८ कात्तिक। विश्व मधुमेह दिवस अवसरमा पोखरामा मंगलबार प्रभातफेरी र सचेतना कार्यक्रम गरिएको छ।

लायन्स क्लब इन्टरनेसनल ३२५ बि १ को आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को सह-आयोजनामा मधुमेह नियन्त्रण गर्नका लागि विभिन्न उपाय अपनाउन आग्रह गर्दै विश्व मधुमेह दिवस मनाइएको हो।

मधुमेही समाज कास्की, मधुमेह तथा थायराइड उपचार केन्द्र र पोखरा डायबिटिज एन्ड थायराइड क्लीनिकले कार्यक्रमका लागि प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा तीथलाल उपाध्यायले मधुमेह विश्वमै चुनौतीको रुपमा बढ्दै गएको बताए। उनले अल्पविकसित मुलुकमा यसका बिरामी निकै तीव्र गतिमा थपिइरहेको उल्लेख गरे। उनले भने-‘स्वस्थ्य जीवनशैली, उचित खानपान र समय समयमा स्वास्थ्य जाँच गरी मधुमेह लाग्ने सम्भावना कम गर्न सकिन्छ।’

मधुमेह नियन्त्रणका लागि महिलाको भूमिका महत्वपूर्ण हुने उनले बताए। मधुमेह हुन नदिन र भइसकेपछि पनि खानपानमा ध्यान दिन जरुरी भएकाले यसलाई मध्यनजर गरी विश्व स्वास्थ्य संगठनले यस वर्ष महिलालाई सबल बनाएर मधुमेह नियन्त्रणको योजना अघि सारेको उनले बताए।

लायन्स क्लब इन्टरनेसनल ३२५ बि १ का गभर्नर धनराज आचार्यले लायनवादको मान्यताअनुरुप सामाजिक उत्तरदायित्व वहन गर्ने यस खालका कार्यक्रममा आफूहरु लागेको बताए।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले व्यवसायका अतिरिक्त सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरुले हालसम्म ४० स्थानमा निशुल्क शिविर आयोजना गरी २३ हजार जनाको निःशुल्क मधुमेह जाँच गरेको बताए।

उनले आगामी शनिबार पोखरा १२ को वडा कार्यालय, रोटर्‍याक्ट मिडटाउन र रोटरी मिडटाउनको आयोजनामा निःशुल्क मधुमेह, कलेजो र मुटुसम्बन्धी रक्त परीक्षण हुने जानकारी दिँदै सहभागिताका लागि अनुरोध गरे।

चिप्लेढुंगाबाट शुरु मधुमेह सचेतना र्‍याली न्युरोडहुँदै पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो।

नेपाल मधुमेही समाज कास्की अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन टेकनारायण पौडेलले गरेका थिए।

यसैगरी, पोखरा लेखनाथ महानगरपालिका र लायन्स क्लब अफ पोखरा पिस चौतारीको संयुक्त आयोजनामा मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरेर मधुमेह दिवस मनाइएको छ।

कार्यक्रममा करिब तीन सय जनाले स्वास्थ्य परीक्षण गरेको लायन्सलिडर भूपेन्द्र गिरीले जानकारी दिए।

पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जु गुरुङद्वारा मधुमेहसम्बन्धी स्वास्थ्य परीक्षण गरेर कार्यक्रम उद्घाटन गरेकी हुन्।

प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य र पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको सहभागिता थियो।

- अादर्श समाज सम्वाददाता