वाम गठबन्धनको कास्की १ मा सर्म्पर्क कार्यालय

पोखरा, २८ कात्तिक। वाम गठबन्धनले पोखरा-१३, गौडाकोमुखमा कास्की क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा ख को निर्वाचन प्रचारप्रसार कार्यालय सञ्चालनमा ल्याएको छ।

प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार खगराज अधिकारीले मंगलबार कार्यालय उद्घाटन गर्दै कास्कीका सबै क्षेत्रमा वाम उम्मेदवार विजयी हुने दावी गरे। ‘स्थायी सरकार निर्माण गरेर मुलुकको विकास गर्न वाम उम्मेदवार विजयी हुनु आवश्यक छ’- उनले भने।

प्रदेश ख का उम्मेदवार मनबहादुर गुरुङले आफ्नो पक्षमा जनलहर आएको बताए। ‘समृद्ध प्रदेशका लागि मेरो भूमिका महत्वपूर्ण हुन्छ’-उनले भने।

प्रदेशसभा ख का निर्वाचन परिचालन कमिटी संयोजक वेदबहादुर गुरूङको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिवबहादुर बरालले गरेका थिए।

त्यसैगरी, पोखरा १२ को निर्वाचन प्रचारप्रसार कार्यालय पनि उद्घाटन गरिएको छ।

उता, मादी गाउँ’पालिका वडा नं ११ मा वाम गठवन्धनको भेला भएको छ। भेलामा एमालेका नेता प्रकाश सिग्देल, माओवादी केन्द्रका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ख का उपसंयोजक मित्रबहादुर गुरूङ, युवा संघका केन्द्रीय सदस्य पूर्ण लामा, सिंहमान तामाङ, नन्दश्री गुरूङ, कृष्ण लामिछाने लगायतले बोलेका थिए।

रनबहादुर लामा संयोजक र रामवहादुर बस्याल सहसंयोजक रहेको ११ सदस्यीय वाम कार्यदल गठन भएको छ भने जीवन परियार संयोजक रहेको ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ। जोन गुरूङ संयोजक रहेको युवा परिचालन कमिटी गठन भएको छ।

- एजेन्सी