कृष्ण थापा घरदैलोमा

पोखरा, २८ कात्तिक। नेकपा एमाले कास्की २ अन्तर्गत प्रदेशसभा क का उम्मेदवार कृष्ण थापाले पोखरा-१५ मा बुधबार घरदैलो गरेका छन्।

थापाले मतदातासँग भोटमात्र मागेनन्, त्यहाँका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धतासमेत गरे। ‘म जनताको काम गर्नका लागि उठेको हुँ’-उनले भने-‘जनताको साथले जितेर यहाँको विकासमा लाग्नेछु।’

घरदैलोमा कास्की २ का उम्मेदवार रवीन्द्र अधिकारी, समानुपातिक उम्मेदवार सिर्जना शर्मा, भीमबहादुर कार्की र अशोक बूढा छन्त्याल र पोखरा-१५ का वडा अध्यक्ष प्रकाश पौडेलले जनतासँग भोट मागेका थिए।

बुधबार वडा नम्बर १५ को प्रतिभा टोलबाट शुरु प्रचारप्रसार हरियोर्खर्क, लक्ष्मी टोल, कोलपाटन, तल्लो नयाँगाउँ’, माछापुच्छ्े मार्गसम्म पुगेको अनेरास्ववियु जिल्ला कमिटी कास्कीका पूर्व उपाध्यक्ष रामराज पौडेलले बताए । थापालाई जिताउन युवा तथा विद्यार्थी परिचालन गरिने भएको छ। बुधबार क्षेत्र नं २ प्रदेश १ युवा तथा विद्यार्थी परिचालन कमिटीको भेलाले प्रदेश १ मा रहेका ५ वटा वडामा युवा तथा विद्यार्थी परिचालन कमिटी गठन गरेको हो।

कास्की क्षेत्र नं २ प्रदेश १ युवा तथा विद्यार्थी परिचालन संयोजक शिव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्य, वाइसिएलका केन्द्रीय सदस्य नवीन गुरुङले वाम गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता व्यक्त गरे।

यसैगरी, वडा नं ८ र १५ मा वाम गठबन्धन क्षेत्र नं २ का साझा उम्मेदवार रवीन्द्र अधिकारी र प्रदेश खका उम्मेदवार राजकाजी गुरुङले संयुक्त घरदैलो गरी मत मागेका छन्।

- एजेन्सी