कप्तान अनिलको सन्यास

पोखरा, २८ कात्तिक। नेपाली फुटबल टोलीका कप्तान पोखरेली अनिल गुरुङले फुटबलको अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका छन्। उनले घरेलु मैदानमा ५० औं क्याप जित्दै फिलिपिन्सविरुद्धको खेलपछि मंगलबार सन्न्यास लिएका हुन्।

१० नं जर्सीीलगाएर खेल्ने अनिललाई १० अंकको संयोग मिल्यो। अनिलले अन्तिम खेलमा १० मिनेट खेले। १० वर्ष अन्तर्राष्ट्रिय खेल खेलेका उनले १० अन्तर्राष्ट्रिय गोल गर्न सफल भए।  एन्फाले एक समारोहबीच घरेलु सातदोबाटोस्थित एन्फा कम्पलेक्समा अनिलको बिदाइ गरेको हो। एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले उनाई ब्लेजर कालो कोट लगाउँदै सम्मानपत्र हस्तान्तरण गरे।

छनोट चरणअन्तर्गत फिलिपिन्सविरुद्ध घरेलु मैदानमा भएको खेलमा भने अनिल अन्तिम समय मैदान प्रवेश गर्दै कप्तानी आर्मब्याण्ड लगाएका थिए। चोटका कारण एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्ध दुवै खेल गुमाएका उनले घरेलु मैदानमा भएको अन्तर्रार्ष्ट्रिय खेल खेल्दै सन्न्यास लिने उपयुक्त अवसर सदुपयोग गरेका हुन्। फिलिपिन्सविरुद्ध खेलको ८१ औं मिनेटमा सुजल श्रेष्ठको सट्टा मैदान छिरेका अनिलले १० मिनेट बिताए।

सन् २८ अक्टोवर, २००७ मा विश्वकप छनोट चरणको खेलमा यमनविरुद्ध खेल्दै अनिलले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। उनले नेपालका लागि १० अन्तर्राष्ट्रिय गोलसमेत गरेका छन्। उनी नेपाली फुटबल टोलीको १५ औं कप्तान हुन्। अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिए पनि क्लब फुटबललाई भने निरन्तरता दिने अनिलले बताए।

२०७२ को मंसिरमा भारतमा भएको साफ च्याम्पियनबाट अनिलले नेपाली फुटबल टोलीका लागि पहिलोपटक कप्तानी सम्हालेका थिए। त्यसयता भने अनिल नियमित रुपमा टिममा पर्न सकेका थिएनन्।

पोखरा रंगशालामा सन् २००८ मा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अनिलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। उनले पछिल्लो पटक सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसीपमा भारतविरुद्ध अन्तराष्ट्रिय गोल गरेका थिए। अनिलले अफ्गानिस्तानविरुद्ध सबैभन्दा धेरै अन्तर्राष्ट्रिय तीन गोल गरेका छन्।

१४ वर्ष उमेरदेखि सहारा क्लब, पोखराबाट फुटबल खेलमा कैरियर शुरु गरेका उनले पछि ए डिभिजन लिगका लागि काठमाडौंको ब्रिगेड ब्वाइजमा छिरे । त्यसपछि अनिलले थ्रीस्टार, एनआरटीहुँदै मनाङ मस्र्याङ्दीबाट धेरै खेले।

खेलजीवनमा अनिलले विदेशी क्लबबाट समेत खेल्ने अवसरसमेत पाए। बेलायतमा ट्रेनिङ लिने मौकासमेत पाएका अनिलले बेलायतको चेल्सीको रिर्जर्भ टिममा ट्रायल दिए। उनले बेलायतकै बकिङ क्लबमा समेत ट्रायल दिएका थिए। सन् २००९ मा अनिल भारतको आइलिग क्लब सिलोङ लाजोङमा ३ वर्षका लागि ६३ लाख नेपाली रुपैयाँमा अनुबन्धित भएका थिए।

एएफसी एशियन कप छनोट चरणअन्तर्गत अन्तिम खेलमा फिलिपिन्सविरुद्ध बराबरी खेले पनि नेपाल छनोट चरणबाटै बाहिरिएको छ। अनिलले खेलेको अन्तिम खेलमा नेपाली टोलीले फिलिपिन्सलाई गोल गर्न दिएन। फिलिपिनी टोलीको तुलनामा बढी रक्षात्मक खेल खेलेको नेपाली टोलीले शून्य बराबरीमा खेल टुंगायो।

- अादर्श समाज सम्वाददाता