भोट हाल्न सिकाउँदै घरदैलोमा थापा

पोखरा, २८ कात्तिक। ‘युवा पलायन रोक्नुपर्छ। कृषिलाई व्यावसायिकरण गर्दै आत्मनिर्भर बनाउनुपर्छ’-घरदैलो अभियानमा पोखरा ११, फूलबारी पुगेका नेपाली काँग्रेस कास्की २ अन्तर्गत प्रदेशसभा ख का उम्मेदवार विन्दुकुमार थापाले भने-‘पुरानै अवस्थामा रहँदा आयआर्जन हुन सक्दैन। आयआर्जन नहुँदा आत्मनिर्भर बन्न सकिँदैन।’

रोजगारको लागि युवा विदेशिनेक्रम रोक्नेतर्फ आफ्नो उम्मेदवारी भएको उनले उल्लेख गरे। ‘कृषिलाई व्यावसायिकरण गर्ने काँग्रेसको एजेण्डा हो’-उनले थपे-‘युवापुस्तालाई कृषि उत्पादनको लागि व्यावसायिक तालिम समेत दिनुपर्ने अहिलको आवश्यकता पनि जसले स्वरोजगार बन्न प्रेरित गर्छ।’ उनले सिटिईभिटी मार्फत युवापुस्ताले चाहे अनुसारको आयमूलक तालिम प्रदान गर्दै स्वरोजगार बनाउने उद्घोष गरे।

पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्रबाट घरदैलो अभियान शुरु गरेका थापाले मणिपाल शिक्षण अस्पताल परिसरसम्म पुगे। वयोवृद्धादेखि खेतमा काम गरिरहेका सर्वसाधारणसँग रुखमा भोट माग्न व्यस्त बने। प्रत्येक घरभित्र छिरेर भलाकुसारी गरे। उनीसँगै घरदैलोमा पुगेका कार्यकर्ताले रुखमा भोट हाल्ने तरीका सिकाइरहेका थिए। त्यसमा थापा पनि सहभागी थिए ।

‘भोटमात्रै माग्ने होइन। फोटोसहितको कागज दिएर हुँदैन, भोट हाल्ने तरिका पनि सिकाउनुपर्छ’- घरदैलोक्रममा फूलबारीका स्थानीयबासी भने-‘भोट हाल्न नसिकाउँदा चुनावको अर्थै भएन।’ कार्यकर्ताले पनि मतदाता शिक्षाको लागि स्वयंसेविका आउने भन्दै रुखमा भोट हाल्ने तरिका भने सिकाइदिए।

- अादर्श समाज सम्वाददाता