जन्मगाउँमा भोट माग्दै चालिसे

पोखरा, २८ कात्तिक। ‘म जन्मेको ठाउँ यही हो। ५ सय मिटरमाथि मेरो पुरानो घर छ। मसँगै बाल्यकालमा खेलेका साथीहरु यतै छन्। खुब सम्झिन्छु मेरो गाउँ ।’

चुनावी प्रचारका लागि मंगलबार जन्मगाउँ सिमलटुँडा पुगेका काँग्रेसका कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उम्मेदवार देवराज चालिसेले भावुक शैलीमा यति भन्दै आफ्ना गाउँलेसँग दुःखसुख साटे। विगत सम्झिए र भविष्यबारे चिन्ता गर्न गाउँलेसँग अनुरोध गरे।

‘म खेलेको ठाउँ यही हो। बाल्यकाल यहीँ बिताएँ। यो माटोको सुगन्ध पनि मलाई थाहा छ’-उनले भने-‘यति नजिकको प्रतिनिधि कहिल्यै पनि पाउनुहुन्न। मन र भावना जोडिएको प्रतिनिधि भएकाले यसपालि मलाई भोट हाल्दिनुहोला।’

उनले पोखरा १७ को सिमलटुँडामा घरदैलो गरे। ‘जुनसुकै समस्या परे पनि भन्न मिल्छ। त्यति अधिकार तपाईँहरुसँग छ। म प्रतिनिधि होइन, तपाईहरुको भाइ छोरो हो, घरदैलोका क्रममा उनले भने-‘टाढाको प्रतिनिधि होइन नजिकको आफ्नो भाइछोरो खोज्नुपर्ने र रोज्नुपर्ने बेला आयो। त्यसैले रुखमा भोट हाल्दिनुहोला।’

चालिसेले त्यस क्षेत्रमा विद्यमान सबै समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाए। यहाँका अधिकांश नागरिक लालपुर्जाविहीन छन्। त्यसैले बल्लबल्ल बनाएका टहरामा खानेपानी र बिजुलीका लाइन पनि जोड्न पाएका छैनन्। घरगाउँ डुलेर चालिसेले भने-‘कोही पनि नागरिक भूमिहीन बन्नुपर्दैन। हाम्रै अध्यक्ष भएको बेला दिएको जमिन हो। जनतालाई लालपुर्जा पनि हामी दिलाउनेछौं तर भोट हाल्ने बेला आफ्नो भाग्य र भविष्यलाई हेर्र्नुहोला।’

उनले जनतासँग भएको श्रम र समयलाई उच्चतम उपयोग गर्दै रोजगारी सिर्जनामा आफ्नो जोडबल रहने प्रतिबद्धता जनाए। ‘हाम्रा भोटले सपनाको प्रतिनिधित्व गरोस् । हाम्रा प्रतिनिधि इमान्दार बनून्, सबैको चाहना त्यही हुन्छ’-उनी थप्छन्-‘सुखद भविष्यको यात्रा गर्ने प्रतिनिधि छान्ने अधिकार तपाईँको हातमा छ। अधिकार सही ठाउँमा प्रयोग गर्नुस्, भविष्यमा दुःख भोग्नुपर्दैन।’

चालिसेले सोमबार पोखरा ११, फूलबारी र काहुँका विभिन्न क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए।

- अादर्श समाज सम्वाददाता