हालीमुहाली गर्न गठबन्धन : गुरुङ

पोखरा, २८ कात्तिक। संघीय समाजवादी फोरम नेपालका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले सत्ता कब्जा गरी हालीमुहाली गर्न गठबन्धन बनेको बताएका छन्।

संघीय समाजवादी फोरम कास्की क्षेत्र ३ को चुनावी प्रचारप्रसारक्रममा अन्नपूर्ण १, नाउडाँडाचोकमा मंगलबार आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता गुरुङले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन सत्ता कब्जा गरी हाली मुहाली गर्न बनाइएको आरोप लगाउँ।

यदी जनता र मुलुकका लागि उत्तरदायी हुन भने काँग्रेस, एमाले, माओवादी पार्टीका नेताहरुले पटक पटक सत्ता सञ्चालन गरिरहदा किन नेपाल र नेपालीलाई समृद्ध बनाउन नसकेको उनको भनाइ थियो।

चुनावको बेलामा आश्वासन बाँड्ने अनि आफ्ना स्वार्थ पूरा गर्नेहरुलाई जनताले साथ दिनेछैन, वैकल्पिक शक्ति संघीय समाजवादी फोरमको मसाल चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरे।

क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, पूर्व सांसद डिलबहादुर नेपालीले उचित नीति र नेताका अभावका कारण मुलुक विकास हुन नसकेको बताए।

निर्वाचन क्षेत्र ३ चुनाव परिचालन समितिका संयोजक पदमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. ३ प्रदेश १ का उम्मेदवार सुवेदार तुलबहादुर गुरुङ, समानुपातिक उम्मेदवार रामबहादुर नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए।

यसैबीच, अन्नपूर्ण १, नाउडाँडामा चुनाव प्रचार प्रसार गर्न रवि परियारको संयोजकत्वमा प्रेमबहादुर परियार, नरबहादुर विक, अर्जुन परियार, दिलबहादुर नेपाली, परशुराम नेपाली, नन्दे विक, चुडे परियार, पहले परियार, खड्कबहादुर विक रहेको समिति गठन गरेको छ।

यसरी नै मसाल चिन्हमा मतदान गर्न आग्रह गर्दै उम्मेदवार डिलबहादुर नेपाली, सुवेदार तुलबहादुर गुरुङ, रामबहादुर नेपाली, प्रेमराज भण्डारी, तारा नेपाली लगायत प्रचार प्रसार समितिले नाउडाडामा घरदैलो गरेको थियो।

- एजेन्सी