छन्दनायक वियोगी ५७ औं वर्षमा प्रवेश

पोखरा, २८ कात्तिक। छन्दनायक एवम् महाकाव्यकार माधव वियोगी आजदेखि ५७ औं वर्षमा प्रवेश गरेका छन्।

कास्कीको अर्घाां, कालिका घिमिरेथरमा २०१८ कात्तिक २९ मा पिता अग्निधर र माता विष्णुमाया घिमिरेका दोस्रो सुपुत्रका रूपमा उनको जन्म भएको थियो।

छन्द बचाऔं अभियान-२०५३ र महाकाव्यलेखन अभियान-२०६० को सञ्चालनमार्फत् विशेष चर्चामा आएका वियोगीका छ ओटा महाकाव्यसहित विभिन्न विधाका दुर्इ दर्जन कृति प्रकाशित छन्। जगदम्बा (महाकाव्य), नाट्यसम्राट (महाकाव्य), विष्णुमाया (खण्डकाव्य) र नूतन संकल्प -कवितासंग्रह) उनका बहुचर्चित काव्यकृति हुन्।

विभिन्न संघसंस्थाले उनलाई छन्दनायकको उपाधि दिएका छन् भने २०६७ सालमा उनको पोखरामा रथारोहणसहित सार्वजनिक अभिनन्दन भएको थियो। उनको नाममा माधव वियोगी वाङ्मय प्रतिष्ठान समेत गठन भएको छ। छ हजार भन्दा बढी जनालाई छन्दज्ञानसम्बन्धी प्रशिक्षण दिइसकेका वियोगी नेपाली साहित्यमा पुर्‍याएको योगदानस्वरूप विभिन्न संघसंस्थाबाट पुरस्कृत तथा सम्मानित भएका छन् ।

आगामी मंसिर तेस्रो साता उनलाई महाकवि देवकोटा पुरस्कारद्वारा सम्मान गरिने घोषणासमेत भइसकेको छ। वियोगीले कृष्णकुमारी स्मृति पुरस्कार, लेखनाथ पौडेल सम्मान, गेरू अम्बिका सम्मान, प्रतिभा पुरस्कार, पल्लव साहित्य सम्मान, रत्न श्रेष्ठ पुरस्कार, दुल्लभ लामिछाने पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् भने दुर्इ दर्जन बढी संघसंस्थाबाट सम्मानित भएका छन्।

पत्रकारिता, समाजसेवा र शिक्षाक्षेत्रमा समेत संलग्न छन्दनायक एवम् महाकाव्यकार वियोगी जनप्रिय बहुमुखी क्याम्पस नेपाली विषयका सहप्राध्यापक एवं पूर्व क्याम्पस प्रमुख पनि हुन्। पोखरा ३ मा स्थायी घर भएका वियोगी हाल पोखरा १७, बेलघारी बस्छन्।

- एजेन्सी