वामपन्थी पक्षधर दुर्इ कर्मचारी संगठन एक

पोखरा, २७ कात्तिक। कास्कीका दुर्इ छुट्टाछुट्टै निजामती कर्मचारी ट्रेड युनियनबीच सोमबार एकता भएको छ।

एमाले पक्षधर नेपाल निजामती कर्मचारी संगठन र माओवादी पक्षको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कास्की जिल्ला कार्यसमितिबीच संयुक्त भेलाले कर्मचारी संगठनबीच एकता भएको जनाएको हो।

नेपाल निजामती कर्मचारी संगठन कास्कीबाट अध्यक्ष अशोक खनाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन -निजामती) कास्कीको तर्फबाट कार्यवाहक अध्यक्ष रामचन्द्र ढुंगानाले संयुक्त हस्ताक्षर गरी दुर्इ कर्मचारी संगठनबीच एकता भएको जनाएका हुन् । गत बुधबार दुर्इ संगठनको केन्द्रीय समितिको काठमाडौंमा भएको एकता भेला र उक्त एकता भेलाको निर्देशनअनुसार जिल्लास्थित कर्मचारी संगठनबीच एकता गरिएको संयोजक अशोक खनालले बताए।

संयुक्त भेलाले अशोक खनालको संयोजकत्वमा पाँच सदस्यीय कार्यसमिति समेत गठन गरेको छ। समितिको सहसंयोजकमा रामचन्द्र ढुंगाना, सदस्य सचिवमा रामचन्द्र पहारी, सदस्यमा ध्रुबराज पौडेल र वीरेन्द्र बराल छन्।

दुवै संगठनद्वारा संयुक्त जारी विज्ञप्तिमार्फत राष्ट्र सेवक कर्मचारीहरु जनतामाझ स्थापित दुर्इ ट्रेड युनियनहरुबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफल बनाउन संयुक्त प्रतिबद्ध जनाएका छन्। विज्ञप्तिमा ट्रेड युनियन आफ्नोमात्र हकअधिकारमा सीमित नभई देशको स्वाधीनता, राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार, देशप्रति र जनताप्रति सदैव उत्तरदायी रहेको उल्लेख गरिएको छ।

‘मुलुकको हालसम्मको उपलब्धि संस्थागत गर्न र भयरहीत ढंगले जनताको मतलाई रक्षा गर्ने वातावरण बनाउन र नेपालको प्रशासनलाई स्वच्छ, तटस्थ, निष्पक्ष र गतिशील बनाई सरकारलाई सहयोग गर्नु हामी राष्ट्रसेवकको कर्तव्य हो’-विज्ञप्तिमा भनिएको छ-‘मुलुकको समग्र विकास र समृद्धिको लागि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नयाँ नेपाल स्थापना गर्नेसम्मको परिकल्पना हामी ट्रेड युनियनहरुले गरेका छौं।’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीले समेत मतदान गर्न पाउने व्यवस्था मिलाइदिन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ चरणमा गइसकेको परिवेशमा निजामती सेवा ऐन बनाउँदा कर्मचारीको संगठित हुने अधिकारको सुनिश्चितताको लागि सरकारसमक्ष माग गरेको छ।

कार्यक्रममा माओवादी केन्द्रका कास्की सहसंयोजक गंगा पोखरेलले राजनीतिक परिवर्तपछिको उपलब्धि संस्थागत गर्न वामपन्थीबीचको एकता रहेको जिकिर गरे।

‘जनताको मतबाट समाजवाद प्राप्त गर्ने हाम्रो उद्देश्य हो’-पोखरेलले भने-‘देशलाई स्थिर सरकारमार्फत समृद्धि प्रदान गर्न र राष्ट्रिय पुँजीको संरक्षण गर्न वामपन्थीबीच एकताको खाँचो थियो।’

एमाले फ्याक्सन इञ्चार्ज रामप्रसाद खनालले ट्रेड युनियनभित्रको अराजकता, अर्थवाद र अवसरवादको अन्त्य हुनुपर्नेमा जोड दिए। वामपन्थी एकता समाजवादी आन्दोलनको अभियानतर्फ उन्मुख रहेको उनको भनाइ थियो।

‘वामपन्थी एकताले श्रमजीवी वर्ग खुशी छौं’-खनालले भने-‘अभियानले पेशागत संघ संगठनको सामाजिक सुरक्षासमेत शुनिश्चितता गर्दछ।’

नेपाल राष्ट्रिय कर्मचारी संगठन -निजामती) का केन्द्रीय सदस्य बुद्धिसागर घिमिरेले कर्मचारीतन्त्रमा सामन्तवादी अवशेष रहेको बताउँदै भ्रष्टाचाररहीत शून्य सहनशीलता अपनाउन कर्मचारीलाई आग्रह गरे। नेपाल निजामती कर्मचारी संगठनका भरतप्रसाद भुषालले स्थायी सरकारबिना पेशागत हकअधिकार प्राप्त नहुने जिकिर गरे।

संयोजक अशोक खनालको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक रामचन्द्र ढुंगानाले स्वागत र सदस्य सचिव रामचन्द्र पहारीले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता