‘फोर जी’ सेवा गलत बाटोबाट : खड्का

पोखरा, २७ कात्तिक। नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य तथा प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार कुमार खड्काले एनसेललाई विकास समितिले गलत ढंगले ‘फोर जी’ सेवा अनुमति दिएको आरोप लगाएका छन्।

पोखरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले सार्वजनिक लेखा समिति र अर्थ समितिले अस्वीकार गरेको फोर जी सेवा विकास समितिले रातारात अनुमति दिएको बताए।

‘२६ अर्ब लाभकर तिर्न बाँकी एजियटा कम्पनीको एनसेललाई कर असुली नगरी विकास समितिले फोर जी सेवा सञ्चालन अनुमति दिनु देशकै लागि घातक छ’-उनले प्रश्न गरे-‘देशब्यापीरुपमा विरोध भएको एनसेल प्रकरणबारे विकास समिति र यसका सभापति रवीन्द्र अधिकारी किन मौन-’ आफ्नो प्रश्नको जवाफ दिन अधिकारीसँग खड्काले आग्रह गरेका छन्।

‘रवीन्द्रजीले पैसा खानुभयो कि खाएन म त्यतातिर जान्नँ तर मिडियामा अनियमितताका कुरा पनि उठ्ने गरेका छन्’-उनी भन्छन्-‘यति सार्वजनिक चासोको विषयमा पनि जवाफ नदिने अधिकारीलाई मतदाताले किन भोट हाल्ने ? मलाई जवाफ चाहियो।’

आफै संसद् विकास समिति सदस्य भएकाले पनि एनसेल प्रकरणबारे सम्पूर्ण तथ्य जानकारी भएको खड्काको भनाइ छ। ‘फोरजी सेवा दिने विषयमा छलफल हुन थालेदेखि मैले विरोध गरेको हुँ। धेरै मन्त्रीहरुले विरोध गरेपछि मन्त्रिपरिषद्को बैठकबाट पारित हुन नसकेको एनसेल प्रकरण विकास समितिले कसरी स्वीकृति दियो-’-खड्काले भने-‘फोरजी सेवा अनुमति नदिएको भए सबै कर सरकारले पाउँथ्यो। यो सरासर नेपाली जनताको हितविपरीत छ।’

विकास समितिले गरेको निर्णयकै आधारले एनसेलबाट लिनुपर्ने कर असुली गर्न नसकिने उनी बताउँछन्। उनका अनुसार समितिले कर असुली र फोरजी सेवा सञ्चालन अनुमति फरक विषय भएकाले फोरजी अनुमति दिन निर्णय नै सरकारलाई प्रस्ताव पेश गरेको थियो।यस्तै, एनसेल बेचेर गइसकेको स्वीडेनको टेलिसोनेरा कम्पनीसँग वार्ताद्वारा कर लिनुपर्ने र एजियटा कम्पनीसँग लिन नमिल्ने भनि निर्णय गरेको खड्काले जानकारी दिए। ‘फोरजी सेवा दिने विषयमा मेरो आपत्ति होइन। मेरो आपत्ति समितिले गरेको निर्णयप्रति हो’-खड्काले थपे-‘बेचेर गइसकेको स्वीडेनको टेलिसोनेरा कम्पनीसँग कर वार्ताद्वारा असुली गर्न सकिँदैन। यसभित्र केके लुकेको छ, खुलस्त बताइदिनुपर्‍यो रवीन्द्रजी।’ टेलिसोनेराले मलेसियाको एक्जियटा कम्पनीलाई एक खर्ब ४० अर्बमा एनसेल बिक्री गरेको थियो। ३६ अर्ब कर तिर्नुपर्ने एनसेलले सरकारलाई करिब १० अर्बमात्रै तिरेको छ।

- अादर्श समाज सम्वाददाता