प्रदेश ४ मा काँग्रेसको मिडिया सेन्टर

पोखरा, २७ कात्तिक । नेपाली काँग्रेसले मुलुकका सातवटै प्रदेशमा मिडिया सेन्टरको स्थापना गरेको छ।

आसन्न निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा जनमत सृजना गर्न र काँग्रेसका चुनावी एजेन्डा जनतामाझ पुर्‍याउन सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको हो।

काँग्रेस नेता बालकृष्ण खाँणको नेतृत्वमा रहेको प्रचारप्रसार समिति र सोही समितिअन्तर्गत काँग्रेस युवा नेता गगन थापा नेतृत्वको प्रचार प्रसार समन्वय उपसमितिको मातहतमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको हो।

काँग्रेसले प्रदेश ४ को मिडिया सेन्टरको प्रमुखको जिम्मेवारी पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई दिएको छ। पराजुली नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन्।

प्रदेश ४ मा स्थापना गरिएको मिडिया सेन्टर उद्घाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले निर्वाचनक्रममा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए।  कास्की १ प्रतिनिधिसभा सदस्यबाट काँग्रेसका उम्मेदवार समेत थापाले यो बेलामा देशलाई नयाँ संविधान दिएको नेपाली काँग्रेसलाई अब समृद्धिका लागि सघाउन मिडियासँग आग्रह समेत गरेका छन्।

उनले बेलायती प्रधानमन्त्रीको चुनावको उदाहरण दिँदै मिडियामा नेताहरुले पनि प्रचारका लागि लगानी गर्न आवश्यक रहेको सुझाए।

काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले अहिलेको चुनाव जितहारको चुनाव नभई एउटा क्रान्ति भएको बताए। ‘चुनावमा हार जितले खासै अर्थ राख्दैन। तर अहिलेको चुनाव एउटा क्रान्ति हो, जनआन्दोलन हो’-उनले भने-‘त्यसैले अहिले जित्नैपर्ने स्थिति छ ।’ पूर्वमन्त्री समेत रहेका खड्काले लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचन र त्यसको पर्याय नेपाली काँग्रेस भएकोले यो चुनावमा रुखचिन्हलाई कुनै व्यक्ति, नेता वा नेपाली काँग्रेसको मात्र नसम्झी लोकतन्त्रमा आस्था राख्ने सबैको चिन्ह सम्झेर मतदान गर्न आग्रह गरे।

काँग्रेस कास्की ३ का उम्मेदवार शुक्रराज शर्माले अहिले आफूले के दिनेभन्दा पनि अरुसँग के लिने भन्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । मिडिया सेन्टरको उद्घाटन कास्कीको पोखरामा हुनुले भविष्यमा काँग्रेसको प्रदेशको कार्यालय पनि पोखरामा हुने पूर्वाधार तयार भएको उनको भनाइ थियो।

काँग्रेसका युवा नेता तथा कास्की २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज चालिसेले कम्युनिष्टको गठबन्धन हुने चर्चाले नै मुलुकमा लगानीको वातावरण घटेको बताए। उनले सोही चर्चाका कारण सेयर कारोबारमा गिरावट आएको बताउँदै आसन्न निर्वाचनमा कम्युनिष्टको विजय भएमा मुलुकको आर्थिक स्थिति के होला – भन्ने प्रश्न गरे ।

‘नागरिकलाई नेपाली काँग्रेस मन नपर्न सक्छ तर आफ्नो व्यक्तिगत सम्पत्ति र स्वतन्त्रता सबैलाई प्यारो हुन्छ । यसको संरक्षणका लागि पनि नेपाली काँग्रेसको विकल्प छैन’-उनले भने।

काँग्रेसका समानुपातिक उम्मेदवार एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले २०६२/६३ को जनआन्दोलनपछि काँग्रेसले ८ सय ४४ दिन, नेकपा एमालेले १ हजार १ सय २३ दिन र माओवादी केन्द्रले १ हजार १ सय ४३ दिन सरकारको नेतृत्व सम्हालेको बताउँदै छोटो समय नेतृत्व लिएको काँग्रेसले नै संविधान निर्माण गर्न र विकासको आधारशीला तयार गर्न सकेको स्पष्ट पारे। विश्वका ४९ मुलुकमा रहेको कम्युनिष्ट शासन अहिले घटेर पाँचवटा मुलुकमा मात्रै सीमित छ। त्यसैले पनि नेपालमा कम्युनिष्टको भविष्य छैन’-उनले भने।

कार्यक्रममा काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमिति सदस्य तेजप्रकाश पण्डितले कम्युनिष्टहरुको छलकपटलाई उदांगो पार्नुपर्ने बताए। उनले यो बेलामा मिडिया आक्रामक रुपमा लाग्नुपर्ने कुरामा जोड दिए। नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले पार्टोको पक्षमा माहौल बढाउन मिडिया सेन्टरले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

काँग्रेस प्रदेश ४ का मिडिया सेन्टर संयोजक गंगाधर पराजुलीले आसन्न निर्वाचनमा काँग्रेसको पक्षमा जनमत सृजना गर्ने कुरालाई लोकतन्त्रवादी सञ्चारकर्मीले ध्यान दिने विश्वास व्यक्त गर्दै निर्वाचनक्रममा कर्मचारीको परिचालन, मतदाताको सुरक्षा र मतगणनाका क्रममा हुने अनियमितता रोक्न काँग्रेस चनाखो हुनुपर्नेमा जोड दिए। कार्यक्रम सञ्चालन नेपाल प्रेस युनियनका गण्डकी अञ्चल संयोजक टंक अधिकारीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता