बाघगणना नोभेम्बर ३० बाट

चितवन, २७ कात्तिक। नेपालका बाघ रहेका संरक्षित क्षेत्रहरूमा आगामी नोभेम्बर ३० बाट बाघगणना गरिने भएको छ। यसअघि नोभेम्बर दोस्रो साताबाट गणना गर्ने भनिए पनि निर्वाचनका कारण दुविधा हुँदा केहीपछि सारिएको हो।

निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार क्यामरा ट्यापिङ पद्दतिद्वारा बाघगणना गरिनेछ। करिब दुर्इ हजार अत्याधुनिक प्रविधिका क्यामरा जडान गरी क्यामराले कैद गरेका तस्वीरको अध्ययन गरेर बाघ गणना गरिने उनले जानकारी दिए। पसावन्यजन्तु आरक्षबाट गणना शुरु गरिनेछ। पर्सा चितवन हुँदै करिब तीन महिनाको अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर बाघ गणना सम्पन्न गरिने लक्ष्य रहेको खड्काले जानकारी दिए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले निर्वाचन आयोगसँग समन्वय गरेर गणना कार्य अगाडि बढाइएको बताए। उनले निर्वाचनमा प्राविधिक कर्मचारीलाई नखटाउन र अन्य कर्मचारीलाई पनि सकभर नखटाउन खटाउनै परे पनि थोरै मात्रै खटाउन आग्रह गरिएको बताए।

सरोकारवालाहरूको बैठकले निर्वाचनको दिन बाहेक अरु अन्य दिनमा काममा अवरोध नहुने देखिएपछि निर्वाचन अघि नै गणना शुरु गर्न लागेको हो। महानिर्देशक खड्काले निर्वाचनको दिनमा पनि क्यामरा जडान गरेर निर्वाचनमा सहभागी हुन जान सकिने भएकाले गणनालाई नरोकि अघि बढाउने निर्णय गरिएको बताए।

नेपाल र भारतका बाघ पाइने संरक्षित क्षेत्रहरूमा एउटै प्रविधिबाट एकै पटक बाघगणना गरिने भएको छ। दुवै देशका तराई भू-परिधि कार्यक्रम लागू भएका संरक्षित क्षेत्रमा बाघको संख्या अद्यावधिक गर्न गणना गर्ने निर्णय गरिएको हो। भारतमा भने बाघगणना कार्य शुरु भइसकेको जानकारी दिंदै महानिर्देशक खड्काले सीमा क्षेत्रमा भने एकै पटक गणना गरिने बताए। भारतको ठूलो भूभागमा गणना गर्नुपर्ने हुँदा शुरु भइसके पनि सीमामा भने एकै पटक गणना हुने उनले बताए।

यसअघि पनि दुवै देशमा एकै साथ गणना गरिएको भए पनि प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो भएको खड्काले बताए। नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सावन्यजन्तु आरक्षसँगै भारतको वाल्मीकि र्टाईगर रिर्जब, नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको कतर्नियाघाट वाईल्डलाईफ सेन्चुरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग भारतको दुधुवा र्टाईगर रिर्जर्व जोडिएको छन्।

‘दुवै देशको निकुञ्ज, आरक्ष र वन क्षेत्रमा बाघ ओहोरदोहोर गर्ने गर्दछन्। त्यसैले के कति बाघहरू ओहोरदोहोर गर्छन् भन्ने यकिन गर्न पनि योपटक दुवैतर्फ एकैपटक एउटै प्रविधिबाट बाघ गणना गर्न लागिएको हो’-निकुञ्ज विभागका महानिर्देशक खड्काले भने।

‘बाघ ओहोरदोहोर गर्ने सम्भावित ठाउँमा स्वचालित क्यामेरा राखिन्छ। बाघ जहाँबाट हिँडडुल गर्छ त्यो क्षेत्रमा दुर्इतर्फ क्यामेरा राखिन्छ। त्यो क्यामेराको अगाडिबाट बाघलगायत जे गए पनि स्वचालित रूपमा फोटो खिचिन्छ’-गणना प्रक्रियाबारे प्रमुख संरक्षण अधिकृत कँडेलले भने-‘निश्चित समयपछि क्यामेराको फोटो झिकेर विश्लेषण गर्ने काम हुन्छ। बाघको छालाको पाटा मान्छेको औँला छापजस्तो एकअर्कासँग मिल्दैन। त्यसैले फोटोमा छालाको पाटा हेरेर संख्या अनुमान गरिन्छ।’

बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने गर्छ। कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो क्षेत्र बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्दा बाघको संख्या नदोहोरिने महानिर्देशक खड्काले बताए।

गणनाअघि चितवन राष्ट्रिय निकुञ्जमा गणनामा संलग्न हुने प्राविधिक तथा कर्मचारीलाई अभिमुखीकरण तालिम सञ्चालन गरिने प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए।

गणनामा विश्व वन्यजन्तु कोष, जेडएसएल, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, निकुञ्जअन्तर्गत कर्मचारी, मध्यवर्तीका संरक्षणकर्मी लगायतको सहभागिता रहनेछ। गणनाका लागि तीन करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो। त्यो बेला देशभर बाघको संख्या एक सय ९८ थिए। जसमध्ये चितवन निकुञ्जमा सबैभन्दा धेरै एक सय २० बाघहरू थिए।

चितवन निकुञ्जबाहेक पर्सा बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ। पाटेबाघ विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो। सन् २०१० मा बाघ पाइने विश्वका विभिन्न देशका सरकारी अधिकारीको रुसमा सम्पन्न बैठकले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने निर्णय गरेको थियो। जसअनुसार सन् २०२२ मा नेपालमा बाघको संख्या दुर्इ सय ५० पुग्नु पर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।

पाटेबाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ। नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार नौ सय बाघ रहेको बताइन्छ। पछिल्लो समय चोरीशिकारमा आएको कमी, आहारा प्रजातिका वन्यजन्तुको संख्यामा भएको वृद्धि, बासस्थानमा व्यवस्थापनमा भएको सुधार, स्थानीयमा बाघ संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास लगायत कारण बाघको संख्या बढ्दै गएको अनुमान छ।

- तिलकराम रिमाल