समृद्धिका लागि कम्युनिष्टलाई भोट

पोखरा, २७ कात्तिक। वाम गठबन्धन कास्कीका साझा उम्मेदवारले लोकतन्त्र काँग्रेसको पेवा नभएको दाबी गर्दै संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढीकरण वाम गठबन्धनले मात्र गर्न सक्ने बताएका छन्।

लोकतान्त्रिक शासन व्यवस्थाबाटै समाजवादसम्मको यात्रा तय हुने बताउँदै वाम गठबन्धन कास्कीका नौ जना उम्मेदवार घरदैलो र कोणसभा गरी मत माग्न व्यस्त छन्।

कास्की १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले वाम गठबन्धनले दुर्इ तिहाइ ल्याए पनि अहिलेको शासन व्यवस्थामा परिवर्तन नहुने बताए। उनले भने-‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संरक्षण वामपन्थीबाट मात्र हुन सक्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाप्रति संकेत गर्दै उनले वामपन्थीले जिते अधिनायकतावाद आउँछ भन्दा कसैले नपत्याउने उल्लेख गरे।

लोकतन्त्रिक व्यवस्थाका लागि नेपालमा काँग्रेसभन्दा बढी कम्युनिष्टहरुकै रगत र पसिना बगेको भन्दै उनले बरु काँग्रेसलाई लोकतन्त्रको सम्मान गर्न आग्रह गरे। उनले भने-‘बादल हत्याकाण्ड छानबिन गर्नुपर्छ कि पर्दैन ?’

पोखरा २७ का रिठ्ठेपानी र अर्घाार्अर्चलेमा आयोजित छुट्टाछुट्टै कोणसभालाई सम्बोधन गर्दै अधिकारीले आर्चलेलाई साहित्यिक पर्यटकीय स्थल बनाउन पहल गर्ने बताए। वाम गठबन्धनबाट कास्की १ क का उम्मेदवार दीपक कोइरालाले कृषिमा आधुनिकीकरण गरी समतामूलक समाज नै आफूहरुको उद्देश्य भएको बताए। स्थिर सरकार र सुन्दर भविष्यका लागि वामको जित आवश्यक भएको उनको भनाइ छ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कोमलनाथ बरालले अब लोकतन्त्र खतरामा पर्छ भने सामन्त वर्गबाटै पर्ने जिकिर गरे। उनले भने-‘सर्वहारा लोकतन्त्रका संरक्षक नै हुन्।’

एमाले नेता श्रीनाथ बरालले विकास र समृद्धिका लागि वाम गठबन्धनको जित अवश्यक रहेको र जनताले पनि यसमा साथ दिने विश्वास व्यक्त गरे। कास्की क्षेत्र १ अन्तर्गत प्रदेशसभा ख का उम्मेदवार मनबहादुर गुरुङले आफू जनताको सुखदुःखको साथी भएको बताए। घरदैलो अभियानका क्रममा सोमबार पोखरा-१०, जनप्रिय टोलमा आयोजित कोणसभामा गुरुङले चुनाव जितेपछि पनि आफू सधैँ जनताको साथमा रहने प्रतिवद्धता गरे।

‘स्थानीय आवश्यकताअनुरुपको विकास निर्माणका लागि मैले नेतृत्व गर्नेछु-उनले भने। आर्थिक समृद्धि र रोजगारीको सिर्जना आफ्नो प्राथमिकता रहेको बताउँदै उनले आधुनिक कृषि सहकारी प्रणालीको विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। स्थानीयले यामनाथ पौडेलले जनताको साथमा रहेर देश विकासमा लाग्न आग्रह गरे। नेता अधिकारीले सोमबार पोखरा ८ र १५ मा भेटघाट र घरदैलो गरेका छन्। उनीहरुलाई चर्चित लोकदोहोरी कलाकार जीवन दाहाल, तारापति सुवेदी लगायतले साथ दिए। कलाकारको गीतमा उम्मेदवारले पनि नाच्दै रमाइलो गर्दै मत मागे। घरदैलोमा कास्की क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र अधिकारी र क्षेत्र २ क का उम्मेदवार कृष्ण थापा, समानुपातिक उम्मेदवार सृजना शर्मा, भीमबहादुर कार्की र अशोक बुढा छन्त्याल र पोखरा-१५ का वडअध्यक्ष प्रकाश पौडेल लगायत संलग्न थिए।

पोखरा-१७ मा भएको भेलामा उम्मेदवार थापा जनताले चाहेजस्तै काम गर्न आफू तयार रहेको बताए। ‘पार्टीर जनताले विश्वास गरेको हुनाले मैले चुनाव लड्ने टिकट पाएको हुँ’-उनले भने-‘जनताको साथले चुनाव जितेर जनताकै हितमा काम गर्ने छु।’

वाम गठबन्धनका उम्मेदवार कास्की ३ ख अन्तर्गत पोखरा २२, पुम्दीभुम्दी पुगेका छन्। मतदाताले खानेपानी र बाटो स्तरोन्नति गर्न माग गरे। प्रतिनिधिसभाका उम्मेदवार जग विश्वकर्माले बहुसांस्कृतिक देशलाई अगाडि बढाउन वाम गठबन्धनको विकल्प नभएको बताए।

प्रदेशसभा ख का उम्मेदवार राजीव पहारीले अब एक घर एक धारा होइन, पानी आउने धारा निर्माण गर्ने प्रतिबद्धता जनाए। पुम्दीमा आवश्यक पर्यटकीय पार्क तथा स्थानीय होम स्टे प्रवर्दन गर्न पहल गर्ने उनले आश्वासन दिए।

क्षेत्र नं ३ क का उम्मेदवार रामजी बराल चुनावी घरदैलोको क्रममा सोमबार माछापुच्छ्रे गाउँपालिका वडा नं ६,  धिताल पुगे। उनले भेंडाबारीबाट तल्लो नुवागाउँ, उपल्लो नुवागाउ, अस्तामसम्म घरदैलो गरे। उनीसँग स्थानीयले विकास, निर्माणदेखि चट्याङ समस्या समाधानका लागि आग्रहसमेत गरे। घरदैलोपछि आयोजित कोणसभामा जीवनले ग्रामीण सडक स्तरोन्नति र डिपिआर भइसकेका सडकलाई चाँडै नै कालोपत्रे गर्न पहल गर्ने प्रतिवद्धता जनाए। माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङ र उपप्रमुुख कृष्णकुमारी दवाडीले वाम गठबन्धनले जितेमात्रै गाउँपालिकाका नीति तथा कार्यक्रम सहज रुपले अगाडि वढ्ने भन्दै वाम गठवन्धनलाई जिताउन आग्रह गरे।  निर्वाचन परिचालन कमिटी क्षेत्र नं ३ क का संयोजक दीपक पौडेलले जनताका माग पूरा गर्न वामपन्थीको स्थिर सरकार आवश्यक रहेको बताए।

- अादर्श समाज सम्वाददाता