उम्मेदवार भोटमा, कार्यकर्ता नाचगानमा

‘आयौं आयौं काँग्रेसको भैलो

भोट माग्न हजुरको घरदैलो’

यतिबेला किसान खेतमा व्यस्त रहँदा उम्मेदवार भने संागीतिक कार्यक्रम गर्दै मतदाताको घरदैलो पुगिरहेका छन्। किसानलाई धान थन्क्याउने माचोमा उम्मेदवार मतदाता फकाउन घर, खेतबारी सबैतिर धाउन थालेका हुन्।

बिहानैदेखि कानुनमन्त्री तथा काँग्रेस कास्की क्षेत्र १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञबहादुर थापाले घरदैलो थालेका थिए। किसान खेतबारीमा पस्नु अगावै उनले घरमै पुगेर रुखमा भोट माग्दा धान थन्क्याउन खेत हिडेका स्थानीय बासिन्दा भने एकछिन रोकिएर मन्त्री थापाको अनुरोध सुनिरहे। आफ्नो घरमै मन्त्रीलाई देख्दा सर्वसाधारण समेत छक्क परे। चोकमा भिड भएका सर्वसाधारणदेखि होटलमा चिया गफमा व्यस्त भएका नै किन नहोस् आफूलाई भोट माग्न मन्त्री थापा पक्की कच्ची सबै खाले बाटोमा हिडिरहेका छन्। उनका पछाडि कार्यकर्ताले संागीतिक माहौल जमाउँदै स्थानीय बासिन्दालाई आकषिर्त गरिरहेका छन्।

महानगरपालिकाकै दुर्गम मानिएको वडा नं १४ को खाल्टे मसिनामा कार्यकर्ता गीत गाउँदै अघिअघि, मन्त्री थापा र नेपाली काँग्रेस कास्कीका सभापति तथा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार कृष्णबहादुर केसी पछिपछि दुर्इहात जोड्दै घरभित्र पुगेर रुखमा भोट मागे। ‘यसपटक रुखमै भोट दिनोस्’-मन्त्री थापाले भनिरहेका थिए-‘विकासको कामको जिम्मेवारी काँग्रेसले लिन्छ। समृद्ध बनाउने अभियानमा सधैँ लागिपर्छ।’

उम्मेदवार थापाले खाल्टे मसिनामा पुगेर जनताको चाहना आत्मसात गर्दै महानगरपालिकाको शहरी क्षेत्र भए पनि पिछडिएको ठाँउमा आफूले नमूना बनाउने समेत प्रतिबद्धता जनाए।

प्रदेश -ख) का उम्मेदवार कृष्ण केसीले पनि समृद्ध पोखरा निर्माण काँग्रेसको एजेण्डा भएको बताए। ‘हामी आश्वासन दिदैनौं । काम गरेर देखाउँछौं’-उनले भने-‘हाम्रो विकास हामीले नै गर्ने हो बाहिरका व्यक्तिले आएर गर्दैन्।’

स्थानीय तहमा नेपाली काँग्रेस कास्कीबाट महानगरको उपमेयर उम्मेदवार समेत रहेकी सरस्वती गुरुङले निर्वाचनको कमाण्ड सम्हालेकी छिन्। क्षेत्र १ का काँग्रेसी उम्मेदवार यतिबेला घरदैलोमै ब्यस्त छन्। विभिन्न वडा, टोल र बस्तीका घरघरमै पुगेर उनीहरु काँग्रेसको चुनाव चिह्न रुखमा भोट मागिरहेका छन्।

- अादर्श समाज सम्वाददाता